
महोत्तरी - महोत्तरीको औरही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा केशव अधिकारीलाई काम गर्न बाटो खुलेको छ ।
उच्च अदालत पाटनले अधिकारीविरुद्धको अन्तरिम आदेश रद्ध गरिदिएपछि उनलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गर्ने बाटो खुलेको हो ।
गएको असार ५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केशवकुमार अधिकारीलाई औरही नगरपालिकको प्रमुख प्रशासकीय अधिकृतको पदमा काम गर्न खटाइएको थियो ।त्यसविरुद्ध नगरपालिकाका शिक्षा प्रशासन अधिकृत समेत रहेका धिरेन्द्र लाल कर्णले दिएको रिटमा सुनुवाई गर्दै असार ९ गते उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले निवेदनको अन्तिम टुङ्गो नलागेसम्मको लागि केशव अधिकारीलाई औरही नगरपालिकको प्रमुख प्रशासकीय अधिकृतको पदमा काम गर्न खटाइएको पत्र बमोजिम प्रमुख प्रशासकीय अधिकृतको हैसियतले कुनै काम नगर्नु भनि अन्तरिम आदेश दिएको थियो ।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै अधिकारीले दिएको उत्प्रेषण परमादेश मुद्दामा मंगलवार सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय लेखनाथ पौडेल र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजालसले यसअघिको अन्तरिम आदेश रद्ध गरिदिएको छ ।
आदेशमा भनिएको छ, ‘मूल रिट निवेदनमा निवेदकले उठाएका समग्र विषयमा अन्तिम आदेश हुँदा बोलिने नै भएकोले हाल यस अदालतबाट मिति २०८०-३-९ मा जारी अन्तरिम आदेशलाई कायम राखी रहन उपयुक्त नदेखिंदा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१)(ग) बमोजिम रद्द गरिदिएको छ । नियमानुसार पेश गर्नु ।’