जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज विश्वासको मत लिने भएको छ। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यसूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत जेठ २५ गते मधेश प्रदेशका लागि तेस्रो मुख्यमन्त्री चयन भएका सिंहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको कारण बजेट पारित नहुँदै विश्वासको मत लिन लागेका हुन् । उनले २१ गते नै विश्वासको मत लिन तयार रहेको जनाए पनि बजेट उपर छलफल प्रारम्भ भइनसकेको अवस्थाका कारण शनिबारका लागि तय भएको जनाइएको छ ।
प्रदेशसभामा बजेटको विषय लिएर सांसदहरुमा हल्लाखल्ला छ भने स्वयं मुख्यमन्त्री सिंहले पनि ह्याकरले बजेट बिगारेको भनेर सार्वजनिक रुपमै स्वीकार गरिसकेको छ। यस्तो अवस्थामा बजेट संशोधन नगरी पास गर्न नसकिने अडान सांसदहरुको छ । यहीँबीच उनले विश्वासको मत लिन लागेका हुन् ।
संघमा बदलिएको राजनीतिक परिवेशको असर मधेश सरकारमा पनि परेको छ । अन्य प्रदेशजस्तै प्रतिनिधिसभाका दुई ठूला दल मधेश प्रदेशमा दुवै ठूलो त हो तर दुवै मिलेर सरकार बनाइहाल्न सक्ने अवस्था भने छैन । त्यसैले केही मधेश केन्द्रीत दलहरुसँग सहकार्य गर्नु बाध्यताको कारण तत्काल जनमतलाई नै निरन्तरता दिने कांग्रेस र एमालेका सांसदहरुको भनाई छ ।