
काठमाडौँ — निजामती सेवाको उच्चतम पद मुख्यसचिवमा लीलादेवी गड्तौला बढुवा भएकी छन् । बढुवासँगै उनले मुख्यसचिव हुने मुलुककै पहिलो महिलाको इतिहास पनि रचेकी छन् । निजामती प्रशासनको ६९ वर्षे इतिहासमा लगातार २६ पुरुष मुख्यसचिव थिए, लीलादेवी सत्ताइसौं मुख्यसचिव हुन् ।
कायम मुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी लीलादेवीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा बढुवा गरेको हो । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि सरकारले गत असार ९ मा वरिष्ठ सचिव लीलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो । मुख्यसचिव रिक्त भए वरिष्ठ सचिवले स्वतः निमित्त पाउने व्यवस्था छ ।
राजनीतिक समीकरण परिवर्तन भएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि गत असार ३१ मा लीलादेवीलाई नै कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । सरकारको निर्णयले निजामती सेवामा रहेका र नयाँ पुस्ताका महिला बढी उत्साहित भएको लीलादेवीले बताइन् । ‘मुख्यतः अवसर पाएपछि महिला र पुरुष सबैले समान ढंगले काम गर्न सक्छन् भन्ने सन्देश गएको छ,’ उनले भनिन्, ‘त्यसैले अवसर दिएपछि मात्र कसैको मूल्यांकन गर्न सकिन्छ ।’
लीलादेवी २०२३ भदौ १५ मा तेह्रथुमको पिप्लेमा जन्मिएकी हुन् । विवाह भने सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ केउरेनीमा भयो । तेह्रथुम सदरमुकाम म्याङलुङस्थित सिंहबाहिनी माविबाट २०३९ सालमा दोस्रो श्रेणीमाएसएलसी उत्तीर्ण गरेर लीलादेवीले नेपाल ल क्याम्पस काठमाडौंबाट उच्च शिक्षाको अध्ययन थालेकी थिइन् । उनी २०५२ सालमा न्याय सेवाअन्तर्गत कानुन अधिकृतबाट निजामती सेवामा प्रवेश गरिन् ।
उनले दोस्रो प्रयासमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी थिइन् । त्यति बेला आयोगले अधिकृतमा १७ जना मागेकामा लीलादेवीले पहिलो नम्बरमा नाम निकालेकी थिइन् । उनी २०६३ कात्तिकमा आन्तरिक बढुवाबाट उपसचिव भइन् भने खुला प्रतिस्पर्धाबाट २०७० कात्तिकमा सहसचिव बनिन् । सचिवमा बढुवा भने २०७७ सालमा भएकी हुन् ।
करिव २९ वर्षको जागिरे जीवनमा उनले १७ वर्ष कानुन मन्त्रालयमा बिताएकी थिइन् । उनको जागिरको प्रवेश पनि कानुन मन्त्रालयबाटै भएको हो । उनले निर्वाचन आयोगमा २० महिना र कानुन आयोगमा ३४ महिना काम गरिन् ।
लीलादेवीले जागिरका सिलसिलामा धेरै समय कानुनको मस्यौदा गरेर बिताएकी थिइन् । अहिले पनि कानुन तर्जुमामा आफूलाई धेरै रुचि लाग्ने उनको भनाइ छ । २०७२ मा जारी संविधान कार्यान्वयनका लागि बनेका धेरै कानुनको मस्यौदा निर्माण उनी संलग्न थिइन् । मुख्य सचिवमा लीलादेवीको कार्यकाल ३५ दिनको मात्र हुनेछ ।
५८ वर्षे उमेर हदका उनी आगामी भदौ १५ मा अवकाशमा जानेछिन् । छोटो समयमा आफूले जति सकिन्छ, परिणाम देखिने गरी मिहिनेत र इमानदारीपूर्वक काम गर्ने मुख्यसचिव लीलादेवीको अठोट छ ।-कान्तिपुर