
महोत्तरी- औरही नगरपालिकाले समाजिक सुरक्षा भत्ता वित्तरण सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
औरही नगरपालिकाको आयोजना र सेभ द चिल्ड्रनको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासको सहजीकरणमा आइतवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नगरपालिकाका समाजिक सुरक्षाभत्ता प्राप्त गरिरहेका सेवाग्राहीहरुले सेवाप्रवाहमा देखिएका कमीकमजोरी तथा गुनासो र समस्या बारेमा व्यापक रुपमा चर्चा गरेका थिए।

कार्यक्रममा उठेका सबालहरुलाई सम्बोधन गर्दै मेयर प्रदीकुमार खडकाले सेवाग्राहीका गुनासा लाई स्वागत गर्दै नगरपाालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवा लाई प्रभावकारी बनाउने हिसावले सवै वडामा सार्वजनिक सुनुवाइ गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। मेयर खड्काले जनप्रतिनिधी र कर्मचारीहरुलाई गुनासोहरुको सम्बोधन गरि कार्य सम्पादन गर्न निर्देशन समेत दिए।
निमित प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्रले सेवाप्रवाहलाई गुनासो रहित बनाउने कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सेवाप्रवाहमा कुनै असन्तुष्टि भएमा सहज र सरल रुपमा गुनासो गर्न हरेक वडा र कार्यालयमा गुनासो पेटिका राख्ने बताए।
नेपाल प्रेस युनियन मधेस प्रदेशका महासचिव अजयकुमार साहले सहजीकरण गरेको उक्त कार्यक्रममा उपमेयर रेणु झा, ९ वटै वडाका अध्यक्षहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, पत्रकार समेतको सहभागिता रहेको थियो ।