जनकपुरधाम- धनुषामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपता भएका छन्।
मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो।



यस्तै, मंगलबार दिउँसो कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा एक श्रीमान् श्रीमती बेपत्ता भएका छन्।
गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहा व्यारेज नजिक स्थानीय ३५ वर्षीय साजन परियार र माया परियार नदीमा बेपत्ता भएको प्रजिअ दाहालले बताए।
उनीहरुको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ दाहालले जनाए।
यस्तै, सर्लाहीमा बागमती नदीमा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ।
रौतहटको गढीमाई नगरपालिकाबाट मंगलबार बिहान बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न गएका गढीमाई–२ समनपुरका ६६ वर्षीय सहिद राय भाटको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बाढीले वृद्धलाई बगाइरहेको देखेपछि स्थानीयले उद्धार गरी रौतहटको अस्पतालमा पुर्याएका थिए। उनलाई थप उपचारको लागि चन्द्रनिगाहपुर अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको सर्लाही प्रहरीले जनाएको छ।




