महोत्तरी- मटिहानी नगरपालिकाले राम माध्यमिक विद्यालय मटिहानीको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ।
यसैबीच नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री शरत सिंह भण्डारीले एक कार्यक्रम बीच शनिवार छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।

साईकल बितरण गर्दै मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गुणस्तरीय शिक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन साइकल बितरण कार्यक्रम पालिकाले ल्याएको बताए।
विद्यालयमा सहजरुपमा पुग्न र पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले पालिकाले विगत ६ बर्ष देखि कक्षा ११ का छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ ।

श्री राम माध्यमिक विद्यालय मटिहानीमा कक्षा ११ मा अध्ययनरत ६२ जना छात्रालाई सो साइकल बितरण गरिएको कुरा प्रधानाध्यापक श्रीश कुमार मिश्राले बताए ।

मटिहानी नगरपालिका वड़ा नं. ८ का वड़ा अध्यक्ष रितेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, सह -सचिव डण्डू राज अधिकारी, महानिर्देशक सूर्य बहादुर खत्री, महोत्तरी जिल्लाका सहायक प्र.जि.अ. उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक विनोद केसी, राष्ट्रिय अनुसन्धान अधिकृत सुकित चौधरी, लोसपा नेपाल पार्टीका नेता ज्ञानु झा, वड़ा अध्यक्ष कलीम अंसारी, नाजिर मियाँ, विभिन्न पार्टीका पार्टी प्रतिनिधि, कार्यपालिका सदस्य, वड़ा सदस्य, अभिभावक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

बिद्यालयमा कक्षा ११ मा मटिहानी समरदही , बहुरवा,सुगा,पर्सा पटैली, सिरसिया ,धिरापुर र धनुषा जिल्लाका तुल्सियाही मुखियापट्टी ,मुसरनिया लगायका क्षेत्र छात्र-छात्राहरु अध्ययनरत रहेका छन् ।





