महोत्तरी – मनरा सिस्वा नगरपालिका सरसफाईमा अग्रसर हुन थालेको छ । सडकमै जथाभावी सामग्री राख्ने कार्य रोक्ने देखि सडक छेउछाउमा रहेको फोहोर हटाउनेसम्मको कार्यमा नगरपालिकाले अग्रसरता लिएको हो । पछिल्लो समय नगरप्रमुख मोहन पाण्डेयको निर्देशनमा नगरपालिकाका कर्मचारी र आवश्यक ट्याक्टर सहितको साधन प्रयोग गरेर सरसफाईलाई पालिकाले निरन्तरता दिएको हो ।

नगरपालिकाको बजार क्षेत्रसंगै सवै वडाका मुख्य चोक र सडकहरु प्राथमिकतामा राख्दै सरसफाई थालिएकोमा यसलाई पालिकाको सम्पुर्ण टोलको गल्ली गल्लीसम्म पुर्याउने लक्ष्यका साथ सरसफाई कार्यलाई अगाडी बढाइएको नगरप्रमुख पाण्डेयले बताए । उनले विकास एक दिनमा सम्भव नहुने भन्दै नितिगत योजना अनुरुप स्वास्थ्य,शिक्षा,रोजगार,कृषि र सरसफाईलाई पालिकाले प्राथमिकतामा राखेको र सोहि अनुरुप कार्यभैरहेको बताए । उनले सरसफाई अन्तर्गत पालिका भित्रको टोल–टोललाई स्वच्छ,सुन्दर र आकर्षक बनाउन नगरपालिकाले थालिसकेको थपे ।




नगरप्रमुख पाण्डेयले नगरका विभिन्न स्थानमा फोहर व्यवस्थापन,पुनः प्रयोग र रिसाइकलिंङका उपायहरु समेतको योजना रहेको बताउदै नगरका वडाहरुमा नियमित रुपमा फोहोर संकलन र निष्कासनलाई अझ प्रभावकारी सहज र व्यवस्थित बनाउन नयाँ प्रविधिहरु र यान्त्रिक उपकरणहरु आवश्यकता अनुसार प्रयोगमा ल्याउने बताए ।

सरसफाईले नगरको दृश्य र वातावरणमा मात्र सुधार गर्ने होईन, बरु स्थानिय बासिन्दाको स्वास्थ्य र जीवन स्तरमा समेत सकारात्मक प्रभाव पार्ने उनले बताए । सरसफाई कार्यलाई बृहत गरेसँगै नगरका सबै नागरिकलाई स्वच्छता र स्वास्थ्यका महत्वबारे जागरुक र सचेत बनाउने कार्यमा पनि जोड दिने लक्ष्य रहेको नगरप्रमुख पाण्डेयले थपे ।




