
जलेश्वर- महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नम्बर-८ सरंचिया गाउँमा सञ्चालित माँ बौधी फिक्स ईंटा उद्योगमा अज्ञात समहले आगजनी गरेर लाखौको क्षति पुर्याएको छ ।एकडारा गाउँपालिका- ५ बस्ने ४२ वर्षीय रामकृपाल साह र जलेश्वर नगरपालिका- ८ बस्ने ३७ वर्षीय उदयचन्द्र सिंहले रामगोपालपुर नगरपालिका- ८ बस्ने ५० वर्षीय मायाराम मण्डलसित २०८० माघ १० गतेदेखि भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त ईंटाभट्ठाको कार्यालयमा आगजनी गरिदिँदा १० लाख रुपैया बराबरको क्षति भएको उनीहरुले जनाएका छन् ।
आजगनीबाट उक्त ईंटाभट्ठामा रहेका ४ कोठे घर, काठको फर्मा थान- २५०, ग्रिस-१८ किलोग्राम, गियर आयल र ईंजन आयल-४१ लिटर, ठेलागाडाको चक्का- २० सेट, काठको खाट थान-३, स्टील दराज थान-१, पंखा थान-३, पानी तान्ने मोटर थान-४, काउण्टर थान-१, बिजुलीको मिटर, बिजुलीको तार -५० क्वाईल, त्रिपाल थान-३, जुटको चट्टी थान-३, फम- १ बण्डल, प्लाष्टिकको बाल्टिन थान- ५०, एलईडी चिम थान- १५०, खानेपानी कल, भाँडाकुडा, ओढ्ने ओछ्याउने र अन्य सरसामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताउनुभयो ।
पीडितहरुद्वारा आगजनीको घटनाबाट ईंटाभट्ठाको सबैथोक जलेर नष्ट हुँदा ९ लाख ९५ हजार ५०० रुपैया बराबरको क्षति भएको दावी गरिएको छ भने प्रहरी नायब उपरीक्षक जैसवारले यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताउनुभएको छ ।

ईंटाभट्ठामा हेरचाहका लागि बसेका कामदार (पाले) कामता प्रसाद प्रजापतिका अनुसार मंगलबार राति ३ बजेको समयमा समूहमा आएका अज्ञात व्यक्तिहरुले आगजनी गरी सबैथोक खरानी बनाएको थियो ।यता यसअघि उक्त ईंटाभट्ठा सञ्चालन गर्दै आएका तथा नयाँ सञ्चालकद्वय रामकृपाल र उदयचन्द्रलाई भाँडामा दिने व्यक्ति मायारामले ईंटाभट्ठामा बलवा नगरपालिका- ६ बस्ने ३८ वर्षीय रामईश्वर यादव र ४५ वर्षीय लालबाबु यादवले उक्त ईंटाभट्ठामा आगजनी गरेको आरोप लगाएका छन् ।
मायारामले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उनीहरुले नै ईंटाभट्ठामा आगजनी गरेको भन्दै उनीहरु विरुद्ध निवेदन पनि दिएको छ ।

मायारामले ईंटाभट्ठा रामकृपाल र उदयचन्द्रलाई भाँडामा दिँदा ईंटाभट्ठाको सञ्चालनमा आउने सबै वाधा अवरोध फुकाउने, पहिलेको बाँकी बक्यौता उसैले तिर्ने र कुनै कसैले हानी, नोक्सानी वा क्षति पुर्याउन आएमा उसैको जवाफदेही हुने भनि सम्झौता गरेकोले मायारामले रामईश्वर र लालबाबु विरुद्ध निवेदन दिएको हो ।
घटना घटाउनु भन्दा एकदिन अघि मात्रै रामईश्वरका मान्छेहरुले ईंटाभट्ठामा गाडि वा सवारी साधन जान नसक्ने गरी २ ठाउँमा बाटो खनिदिएको र आफ्नो पैसा ईंटाभट्ठावाला माथि बाँकी रहेको भन्दै लागी लगौज गर्दै आफ्नो पैसा नदिएमा आगो लगाएर सबै नष्ट गरिदिने धम्की दिएर गएको कारण मायारामले उनीहरुले नै ईंटाभट्ठामा आगजनी गरेको दाबी गर्दै प्रहरीमा निवेदन दिएका छन् ।