जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मधेश प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा जनकपुरधाममा मनाएको संविधान दिवस २०८१ कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री सतिशकुमार सिंहले वर्तमान संविधानका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि काम गर्न आवश्यक भएको बताए ।उनले संविधानमा सङ्घीयता, लोकतन्त्र सहितको गणतन्त्र ठूलो उपलब्धिको रुपमा आएको बताए ।
उनले विरोध र समर्थनका बिचमा जारी भएको संविधानमा यदि केही त्रुटि छ भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने बताए।
संविधानमा आवश्यकता ठानेर नै देशमा दुई ठुला दल एक ठाउँमा आएको बताउँदै उनले संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी त्रुटिका विषय वस्तुलाई पहिचान गरेर संशोधन गरी अघि बढ्न सकिने बताए ।उनले सङ्घीयता विभिन्न खालको आन्दोलनबाट प्राप्त भएकाले यो कसैले भन्दैमा समाप्त नहुने दाबी गरे। उनले सङ्घीयता आएको सात वर्ष मात्रै भएको र प्रदेशले अधिकारहरू प्राप्त गरिरहेकाले हतार गर्न नहुने धारणा व्यक्त गरे ।
उनले सङ्घीयताले खर्च बढाएको हल्लामा कुनै सत्यता नभएको बताउँदै अहिले पालिकाको संख्यामा कमी आएको र प्रदेश तथा स्थानीयलाई दिने बजेट ३० प्रतिशत मात्र हुँदा पनि धेरै विकासको कामहरू भएको दाबी गरे।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भएर संविधान बलियो हुने बताउँदै संविधानमा भएको असहमतिहरूको सम्बोधन सार्थक तरिकाले गर्दै जानु पर्ने धारणा राखे । उनले वर्तमान संविधान आएपछि गाउँ गाउँमा विकासको लहर नै आएको बताउँदै अहिले गाउँमा हिलोको अवस्थाको अन्त्य हुनुका साथै शहरी क्षेत्रका सडक, ढलमा व्यापक सुधार भएको दाबी गर्दै संविधान दिवसलाई आम जनताले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने धारणा राखे ।
यसैगरी, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान संशोधनको नाममा प्रतिगमनको उन्मुख भयो भने वर्तमान संविधान नै समाप्त हुने खतरा समेत रहेको भने संविधानलाई सही ढङ्गले परिमार्जन गरी देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले कर्मचारी र विद्यार्थीमा सीमित भएको संविधान दिवसलाई जनमानसमा उत्सवको रूपमा लैजानुपर्ने आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, ‘‘देशमा धेरै विचारहरू रहेको छ । त्यो सबै विचारको साझा विचार संविधान हो । आजको दिन कालो दिवस मनाउनु मूर्खता हो ।’’
सभामुख मण्डलले वर्तमान संविधानमा गरिब धनी सबैले आफ्नो भविष्य देख्छ भन्दै संविधान जीवन दर्शन रहेको बताए। उनले वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान रहेको भन्दै यति राम्रो संविधानलाई प्रयोग गर्न सकेनौ भने परिणाम राम्रो नहुने भन्दै यसका लागि प्रयोगकर्ता इमान्दार भइदिनुपर्ने बताए ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले वर्तमान संविधानले दिएको उपलब्धिहरूको संस्थागत विकास गर्दै थप उपलब्धिका लागि संविधानको परिमार्जन सहित थप काम गर्दै जानु आवश्यक भएको बताए।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले नेपालमा संवैधानिक इतिहासको बारेमा जानकारी दिँदै वर्तमान संविधानले प्रदान गरेको उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि तथा जनताको असन्तुष्टिको सम्बोधन गर्दै विकसित संविधानको रुपम दिन आवश्यक भएको बताए ।
कार्यक्रममा कलाकारहरूले देशभक्तिका गीतहरूमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम अगावै जनकपुरधामको रमानन्द चौकबाट बिहान ७ बजे प्रभावत फेरी निकालिएको थियो। जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।







