बेचन कुमार महतो
वैज्ञानिकहरूले साहित्यीक अन्दाजमा भन्ने गर्दछन्ः “पृथ्वीलाई ज्वरो आएको छ” । यसको मतलब पृथ्वीको तापमान औद्योगिक क्रान्ति (१८५०-१९००) अघि को औसत भन्दा १.५ र २ डिग्री सेल्सियसको थ्रेसहोल्ड पार गर्ने अवस्थामा छ । यसले मानिसहरूलाई गर्मीका कारण उत्पन्न हुने समस्याहरू जस्तै जलवायु परिवर्तनका खतराहरू तर्फ धकेलिरहेको छ । वैज्ञानिकहरूको दावी अनुसार मानवीय गतिविधिहरूको कारण हुने जलवायु परिवर्तन नै बढ्दो तापक्रमको लागि जिम्मेवार छ, जसलाई अस्थायी रूपमा एल निनोले मलजल गरी रहेको छ । (एल निनो भनेको उष्णकटिबंधीय (ट्रोपिकल) पूर्वी प्रशान्त क्षेत्रमा मौसमी न्यानो मौसमको प्राकृतिक विस्तार हो जुन प्रत्येक २ देखी ७ वर्षमा हुने गर्दछ) ।
साल २०२३ मा बढ्दो गर्मीका संकेतहरू स्पष्ट रूपमा देखिन्थे । भू-मध्यसागर क्षेत्र र संयुक्त राज्य अमेरिकामा गर्मीको कारण “लु” चल्नु, क्यानडा, ग्रीस, अष्ट्रेलिया र इन्डोनेसियाको जंगलमा भएको आगलागी तथा अफ्रिकाको हार्नमा लामो खडेरी पछि आएको बाढीहरु यसका सांकेतिक उदाहरणहरु हुन ।
सन्् १८५० देखि विश्वभर पृथ्वीको तापक्रमको तथ्याङ्क राख्ने काम सुरु भएको हो । त्यसयता, २०२३ अहिले सम्मकै सबैभन्दा तातो वर्ष हो । यसै तथ्याँकवाट २०२३ को सबैभन्दा तातो महिनाको रुपमा जनवरीलाई रेकर्ड गरिएको थियो । विश्व मौसम विज्ञान संगठनको अनुसार “सन्् १९८० को दशक देखि प्रत्येक दशक अघिल्लो दशक भन्दा बढी तातो भएको छ ।” युकेको मौसम कार्यालयको अनुसार यो वर्ष पच्छिलो वर्ष भन्दा वढी तातो हुन सक्नेछ ।
हाम्रो छिमेकी मुलुक भारतको अवस्था पनि त्यति राम्रो छैन । केरला र भारतका अन्य स्थानहरूमा “लु” को चेतावनी जारी गर्ने गरिएको छ । तिरुवनंतपुरमका माछा मार्ने माझीहरूले चर्र्को गर्मीमा निर्जलीकरणबाट बच्न पिउने पानीको थप जार तथा वोतलहरु समुद्रमा लैजाने गरेका छन् । नेपालको कुरो गर्ने हो काठमाण्डौमा औषत तापक्रम वृद्धिले आफ्नो नयाँ रेकर्ड बनाउदै गएको छ, तराई मधेशमा मानौ आगो नै वर्षा भई रहेको प्रयाप्त अनुभुति गर्न सकिन्छ ।
तापक्रमको कुन चाही रेकर्ड तोडियो ?
सन्् २०२३ मा विश्वको औसत तापक्रम १४.९८ डिग्री सेल्सियस थियो । यो १८५०-१९०० को औसत भन्दा १.४८ डिग्री सेल्सियस बढि थियो । यति मात्र होइन, यो अघिल्लो सबैभन्दा तातो वर्ष २०१६ भन्दा ०.१७ डिग्री सेल्सियस बढी थियो । जबकी पेरीस जलवायू सम्झौतामा पृथ्वीको बढ्दो तापक्रम वृद्धि दर लाई १.५ डिग्री सेल्सियस भित्र सिमित राख्ने भनिएको छ । तर युकेको मौसम कार्यालयले यो वर्ष पहिलो पटक पृथ्वीको तापक्रममा १.५ डिग्री सेल्सियस सम्मको पेरीस सम्भौता अनुसारको वृद्धिको सिमा टुटन सक्ने अनुमानलाई नकार्न सकिने अवस्था नरहेको जनाएको छ ।
मासिक आधारमा रेकर्ड गरिएको सबैभन्दा उच्च विश्वव्यापी सतहको तापक्रम जनवरी २०२४ मा रहेको थियो । यो गत शताब्दीको औसत १२.२ डिग्री सेल्सियस भन्दा १.२७ डिग्री सेल्सियस बढी हो । पूर्र्वी भू-मध्यरेखीय प्रशान्त महासागरमा एल निनोको अवस्था कायम रहेकोले यो लगातार आठौ- नवौं महिना (अगस्ट-सेप्टेम्वर) सम्म पनि उच्च भएको हो ।
सन्् २०२३ मा तापक्रम सम्वन्धी धेरै कीर्तिमानहरु तोडिएका छन् । कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सी३एस) को प्रतिवेदन अनुसार यस अघि वर्षको दैनिक तापक्रम १८५०-१९०० को स्तर भन्दा १ डिग्री सेल्सियस भन्दा बढी वृद्धि भएको रेकर्ड गरिएको थिएन । झण्डै आधा दिन १.५ डिग्री सेल्सियस बढी तातो हुन्थ्यो । वर्षको दोस्रो भाग (जुलाई-डिसेम्वर) मा प्रत्येक महिना अघिल्लो वर्षको त्यो महिनाको तुलनामा बढी तातो थियो । यस अतिरिक्त २०२३ को जुलाईमा समग्र र नोभेम्बरमा वार्षिक चक्रको सापेक्ष तापक्रम रेकर्ड भएको थियो ।ERA5 (fith generation ECMWF atmospheric reanalysis of the global climate) को डाटा रेकर्डमा जुन ९ देखि पछिका सवै दिनहरु अत्यधिक तातो थिए । नोभेम्बर २०२३ मा २ डिग्री सेल्सियस भन्दा दुई दिन बढी तातो थियो ।
सन्् २०२३ मा विश्वभरका सतही र सामुद्रिक क्षेत्रमा औसत भन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो । युरोप र उत्तरी अमेरिकाका ठूला क्षेत्रहरूमा र अन्य ठाउँहरूमा, वार्षिक तापमान १९९१-२०२० को औसत भन्दा १ डिग्री सेल्सियस बढि थियो।
पृथ्वीको ध्रुवहरुले पनि जलवायु परिवर्तनको मार झेल्नु परेको छ ।NOAA (National Oceanic and Atmospheric Administration) को NCEI (National Centers for Environmental Information) को तथ्यांक अनुसार जनवरीमा अन्टार्कटिक समुद्री बरफको मात्रा पाँचौं सवै भन्दा तल्लो तहमा झरेको छ । आर्कटिक क्षेत्रको तापमान औषत भन्दा माथि रहेको थियो । दुनिया भरमा समुद्री बरफको विस्तार ६.९ मिलियन वर्ग माईल रहेको छ जुन सन् १९९१-२०२० को औषत भन्दा ४,४०००० वर्ग माईल कम हो । NCEI को अनुसार एकातर्फ आर्कटिक समुद्री बरफको विस्तार औषत भन्दा केही कम थियो भने अर्को तर्फ अन्टार्कटिक समुद्री बरफको विस्तार औषत भन्दा ४,२०००० वर्ग माईल कम थियो । यद्यपी, तापमान बढने क्रम समान्यतया महासागरको तुलनामा सतही क्षेत्रमा बढी हुने गर्दछ ।
यस कारण बढ्दैछ तापक्रम
पृथ्वीको तापक्रम बढ्नुमा मानवीय गतिविधिका साथै प्राकृतिक कारणहरू पनि समावेश छन् । तापक्रम बढाउने मुख्य कारक तत्व जलवायु परिवर्तन हो । २०२३ एल निनोको वर्ष थियो । जसले जलवायुमा प्राकृतिक तरिकाले परिवर्तन ल्याउँछ । यसमा तापक्रम र वर्षा जस्तो जलवायुलाई असर गर्ने कारक तत्वहरूमा औसतभन्दा फरकपन आउँछ । नासा अर्थ अब्जरभेटरीले तापमान बढाउन सक्ने तीन अन्य कारकहरू पनि पहिचान गरेको छः समुद्रको तापक्रम, कम एरोसोल र २०२२ मा दक्षिण प्रशान्तको टोंगामा समुद्रको तल भएको ज्वालामुखी बिस्फोट ।

पृथ्वीको सतह नजिकको वायूको औसत तापक्रम बढिरहेको छ । यो परिवर्तन मुख्यतया कोइला, ग्यास र तेल जस्ता जीवाश्म ईन्धन (Bio-fuel) हरूको प्रयोगवाट निस्कने अतिरिक्त कार्बन डाइअक्साइड ग्यासद्वारा हुने गर्दछ । खेती र डेरी पालन, भू उपयोगमा परिवर्तन, पुर्वाधार निर्माण, फोहोर व्यवस्थापन र औद्योगिक प्रक्रियाहरूले मिथेन, नाइट्रस अक्साइड र विभिन्न प्रकारका सिंथेटिक रसायनहरू उत्सर्जन गर्छन । यी ग्यासहरूले पृथ्वीको वरिपरिको तापलाई ढाक्छन् र वाहिर ट्रान्समिट हुन वाट रोक्छन् ।
जलवायु तत्वहरुमा हुने वदलावका कारण बढ्ने गर्मीले जलवायु परिवर्तनको असर बढाउँछ । एल निनोले वायुमण्डलीय प्रवाहलाई यति धेरै परिवर्तन गर्दछ कि विश्वका धेरै भागहरूमा स्थानीय मौसम ६ देखि १२ महिनासम्म परिवर्तन हुन्छ । यो दक्षिणी दोलन (South Oscillation) भनिने मौसमी घटनासँग सम्बन्धित छ, जसले फ्रेन्च पोलिनेशियाको ताहिती द्वीप र अष्ट्रेलियाको डार्विन बीचमा दक्षिणी प्रशान्त महासागरमा समुद्री स्तरको वायु चापको ढाँचामा परिवर्तन देखाउँछ । जब एल निनोको अवस्थाहरू देखा पर्दछ, ताहितीमा भन्दा डार्विनमा औसत हावाको चाप बढी हुन्छ र ला नीना नामक वैकल्पिक चिसो चरणमा यसको ठिक विपरित हुने गर्दछ । El Niño Southern Oscillation (ENSO) भनिने प्राकृतिक जलवायु परिवर्तन घटनाले विश्वको दुर्गम भागहरूको स्थानीय मौसमी ढाँचालाई असर गर्छ । एल निनोको वर्षहरूमा, भारतीय ग्रीष्मकालीन मनसुन दब्ने गर्दछ । महासागरको अस्थायी तापक्रमले प्रशान्त जेट स्ट्रिमलाई दक्षिणतिर धकेल्छ, जसले उत्तर अमेरिका र क्यानडाका भागहरू तातो र सुख्खा बनाउँछ ।

उष्णकटिबंधीय (Tropical) महासागरहरूमा तापमान सम्वन्धी विसंगतिहरू २०२२ मा नकारात्मकबाट २०२३ मा सकारात्मकमा सरेको थियो । यो प्रशान्त महासागरमा “ला नीना” “एल निनो” मा परिणत भएको र तातो एटलान्टिक र हिन्द महासागरहरूबाट प्रभावित हुनुको कारण हो ।
वायूको तापक्रम सम्वन्धी विसंगतिहरू समुद्रको सतहको तापक्रमको विसंगतिहरूसँग नजिकबाट जोडिएका हुन्छन् । कुनै विसंगति रिफरेन्सको लागि लिईएको तथ्याँकले दीर्घकालीन औसतबाट भएको परिवर्तनलाई दर्शाउदछ । यस सम्वन्धमा सकारात्मक वा नकारात्मक विसंगति रिफरेन्सको लागि लिईने तथ्याँकले तातो वा चिसो तापक्रमलाई तुलनात्मक संकेत गर्दछ। समुद्रको उपल्लो तह (माथिल्लो २००० मिटर सम्मको गहिराईमा) संग्रहित भएको तापमान र समुद्रको तल्लो सतहमा भएको तापमानमा २०२३ मा नयाँ रेकर्ड बनेको छ । महासागरमा जम्मा हुने तापमान प्रमुख जलवायू संकेत हो किनकी महासागरले पृथ्वीको ९० प्रतिशत अतिरिक्त तापमानलाई संचय गरेर राख्दछ । दुनिया भरको महासागरमा यो २०२३ मा अहिलेसम्मकै सबैभन्दा ठूलो मार्जिनले बढेको छ ।
वायूमा रहेका साना कणहरू जस्तै धुवाँ, धुलो, ज्वालामुखीको खरानी र एरोसोल भनिने समुद्री स्प्रेले सूर्यको किरणलाई सोस्न वा प्रतिबिम्बित गर्न सक्छ र क्रमशः हावालाई थोरै तातो वा चिसो गराउन सक्छ । गाढा एरोसोलले सामान्यतया गर्मी अवशोषित गर्दछ र हल्का एरोसोलले यसलाई प्रतिबिम्बित गर्दछ । तिनीहरू सँग प्रायः शीतलन प्रभाव हुन्छ । यद्यपि, यो प्रभाव न्यूनतम र सीमित निश्चितताका साथ मौसम ढाँचाहरू (Climatic Pattern) मा जटिल प्रभावहरूको साथ हुने गर्दछ । समग्रमा एरोसोलको कन्सन्ट्रेसनले समेत वायुको तापमानलाई प्रभावित पार्ने गर्दछ ।
धेरै गर्मीको सम्भावित प्रभावहरू के के हुन?
हालै संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानल (आईपीसीसी) को विशेष प्रतिवेदनले तापक्रम १.५ डिग्री सेल्सियस भन्दा माथि पुगेमा यसले गम्भीर असर पार्ने अनुमान गरेको छ । यसमा भारी र तीव्र वर्षा, खडेरी र लु समावेश छन् । हालैको अध्ययनले चेतावनी दिएको छ कि २ डिग्री सेल्सियसको “महत्वपूणर् थ्रेसहोल्ड” नाघेकाले वायूको तापक्रम, वर्षा (वर्षा, हिउँ, आदि), सापेक्षीक आद्रता, सौर्य विकिरण र हावाको गति जस्ता जलवायु परिवर्तनमा मिश्रित प्रभाव पार्न सक्छ । चेतावनी अनुसार बदलिएको मौसममा गर्मीको तनाव र आगलागीको जोखिम बढी हुने छ ।
आईपीसीसीको डाटामा आधारित एक रिपोर्ट अनुसार, चरम गर्मी र खडेरी दुई सबैभन्दा स्पष्ट प्रभावहरू हुन । तापक्रममा १.५ डिग्री सेल्सियसले हुने वृद्धीले प्रत्येक पाँच वर्षमा कम से कम १४ प्रतिशत मानिसलाई र २ डिग्री सेल्सियसले हुने वृद्धीले ३७ प्रतिशत मानिसलाई प्रभावित पार्दछ ।
“लु” भनेको स्पष्ट रूपमा वायू अत्यधिक तातो हुनु र यसतो वायूको ठूलो क्षेत्रमा आगमन हो । विश्व मौसम विज्ञान संगठन (WMO) को अनुसार यो असामान्य रूपमा तातो मौसमको अवधि हो जुन वर्षको सबैभन्दा तातो अवधिमा कम्तिमा लगातार दुई दिनसम्म रहन्छ र स्थानीय मौसमको सीमालाई नाघेको हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वको २० प्रतिशत जनसंख्याले पहिले नै कम्तिमा एक मौसममा १.५ डिग्री सेल्सियस भन्दा बढि तापक्रमको अनुभव गरिरहेका छन् । २ डिग्री सेल्सियसको तापक्रममा, सन् २०१५ मा भारत र पाकिस्तानमा देखिएको जस्तो घातक “लु” हरू हरेक वर्ष आउन सक्छन् । यसतो अवस्था आएमा नेपाल भने अछुतो रहन सक्दैन ।
सन् २०१५ को अप्रिल-जुनमा भारत र पाकिस्तानमा चलेको “लु” ले ३,६०० मानिसको ज्यान लिएको थियो । भारतीय मौसम विभागले सतहको हावाको तापक्रम ४० डिग्री सेल्सियस वा मैदानी इलाकाको सामान्य दैनिक अधिकतम तापक्रम भन्दा ४.५ देखि ६.४ डिग्री सेल्सियस भन्दा बढी हुँदा “लु” घोषणा गर्दछ । जबकि पहाडी क्षेत्रका लागि यो सीमा ३० डिग्री सेल्सियस वा सो भन्दा बढी छ । “लु” को कारण स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । साथै, खाद्यान्न अभाव र मृत्युको जोखिम बढ्छ ।
यदि विश्वव्यापी तापमान २ डिग्री सेल्सियस बढ्यो भने, १.५ डिग्री तातो संसारको तुलनामा शहरहरूमा लगभग ६० करोड भन्दा बढी मानिसहरूले गम्भीर खडेरीको सामना गर्नेछन् । यद्यपि, आईपीसीसीले भनेझैं तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस सम्ममा सीमित गर्दा खडेरी र पानीको समस्या सम्वन्धि तनाव कम हुन सक्छ ।
तापक्रम वृद्धिको अन्य प्रमुख प्रभावहरूमा चिसो मौसममा पनि तातो हुनु र कम चिसो दिन र रातहरू हुनु हो । उदाहरणका लागि तापमानमा १.५ डिग्री सेल्सियसले वृद्धि हुँदा ध्रुव (Polar Region) वरपरका स्थानहरुमा सवै भन्दा चिसो रातहरु समेत ४.५ डिग्री सेल्सियस वढी न्यानो हुनेछ ।
लेखक भू तथा जलाधार व्यवस्थापन कार्यालय, महोत्तरीका कार्यालय प्रमुख हुन ।




