महोत्तरी – भंगाहा नगरपालिका–४ र ५ लाई जोड्न भुताहा खोलामा बनेको पुल १० वर्षदेखि अलपत्र छ । निर्माणका बेला भएको प्राविधिक त्रुटिले खोलामा बनेको पुल संचालनमा आउन नसकेको स्थानीयले बताएका छन् ।
उक्त पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिको दुई करोड ४२ लाखमा २०७० सालमा काठमाडौंको एलाईट कन्स्ट्रक्सन्सले पुल निर्माणको ठेक्का पाएको थियो ।



एलाईटले महोत्तरीकै नर्सिङ निर्माण सेवालाई पेटीठेक्का दिएर काम सम्पन्न गरिएको भनिए पनि हालसम्म उक्त पुल सचालनमा आउन सकेको छैन । खोला बग्ने बाटो र पुल निर्माण गरिएको दिशा नै फरक पर्दा र खोलाको बीच भागमै पुल सकिएकाले पुलको औचित्य नभएको भंगाहा–४ का चन्डेश्वरप्रसाद साहले बताए ।
भंगाहा–५ मा पर्ने बजार र ४ मा पर्ने रहेको जग्गामा खेतीपातीका लागि खोला वारपार गर्नुपर्ने स्थानीय वर्षौदेखि खोलाबाटै जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुलको ईन्जिनियरिङ र निर्माणमै त्रुटि र लापरवाही भएकाले बजेट खेर गएको साहले बताए । पुल संचालनमा आउन नसक्दा पैदल यात्रु र सवारीचालक समेत वर्षाको समयमा जोखिम मोलेरै यात्रा गर्दै आएका छन् ।
पुल संचालनमा ल्याउने विकल्पबारे आफुले पटकपटक सम्बन्धित ठाउँमा पहल गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीव साहले बताए । आफ्नो पालिकाको दुई कार्यकालको नेतृत्वमा उक्त पुलकै विषय लिएर प्रदेश मन्त्रालय बारबार गएको भए पनि सुनुवाइ नभएको उनले बताए ।
पुलको नापनक्सा बनाउने र निर्माण गर्ने समयमै भएको त्रुटिका कारण पुल संचालनमा नआएको मेयर साह बताउँछन् । यता निर्माणको पेटीठेक्का पाएको कम्पनीले भने पुल निर्माणमा त्रुटि नभएको तर खोलाले बाटो बदलेर बाढीले खोला थप कटान गरेका कारण पुल संचालनलमा आउन नसकेको दाबी गर्छन् ।
पुल निर्माणको काम सकेर संचालन गर्ने समयमै बाढीले थप खोला कटान गरेर खोलाले धार बदलेको निर्माण कम्पनीको दाबी छ । ठेकेदार कम्पनीले सम्झौताको म्याद पटकपटक थप गर्दै पुल निर्माण कार्य सम्पन्न गरेको थियो । पुल निर्माणका क्रममा बारबार म्याद गुज्रिँदा समेत काम सम्पन्न नगरेको र काम सही ढंगले भएनभएको अनुगमन र नियमन गर्ने निकायले चासो नदिएका कारण उक्त पुलको अवस्था यस्तो भएको स्थानीय बताउँछन् ।
१५ महिनामा काम सक्नुपर्ने गरी सम्भौता भएको भए पनि निर्माण कम्पनीले ३ पटक म्याद थप गरेको उक्त पुलमा तोकिएको लागत भन्दा झण्डै दोब्बर रकम अपुग भएको निर्माण कम्पनीले जनाएको छ ।
स्थानीय भने उक्त पुल संचालन ल्याउन जनप्रतिनिधिसँग माग गरिरहेका छन् । खोलाको बगरबाट जोखिम मोलेर यात्रा गर्नु परेको भंगाहा–४ का अध्यक्ष गणेश महतोले बताए । मेयर साह र वडाध्यक्ष महतोका अनुसार प्रदेश सरकारबाट यसवर्ष भुताहा खोलाको पुल संचालन गर्न आवश्यक पहल अघि बढ्ने छ ।
निमाण कम्पनीले समेत यसवर्ष पुल संचालन गर्नका लागि थप आवश्यक काम गरिने जनाएको छ । प्रदेश सरकारको बजेटबाट यसवर्ष थप काम गरेर पुल संचालनमा ल्याउने निर्माण कम्पनीका दिपेन्द्र झाले जानकारी दिए । झण्डै सय मिटरमा फैलिएको खोलामा बनेको उक्त पुल ५० मिटर लम्बाई ४ मिटर चौडाइको छ ।




