
महोत्तरी - महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ मदरसा टोल(पुरानो माछा बजार) स्थित विपति साहको घरमा सटर भाडा लिएर संचालनमा रहेको खुश्वु टेन्ट हाउसको स्टोरमा आगलागी हुदा लाखौको क्षति भएको छ ।
शुक्रवार अपरान्ह करिव १२ बजे भएको आगलागी नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानियहरुको अथक प्रयासपछि नियन्त्रणमा आएको छ । आगलागी लगतै घटना स्थलमा आईपुगेको जलेश्वर नगरपालिकाको वारुण यन्त्र अपर्याप्त भएपछि थप मद्दतको लागि मटिहानी नगरपालिका र रामगोपालपुर नगरपालिकाबाट समेत वारुण यन्त्र आगलागी स्थलमा आईपुगेको थियो ।

खुश्वु टेन्ट हाउसका संचालक अरविन्द साहका छोरा सत्यम साहले आगलागीको कारण वारे जानकारी नभएको बताए । उनले करिव ११ः३० सम्म सवै सामान्य नै रहेको र टेन्ट हाउसको पछाडीको जग्गामा सामानहरु राखेकोमा उतैबाट आगो देखिएको बताए । उनले टेन्टमा ५ थान ग्यास सिलिन्डर समेत भएको बताउदै सोहि मध्ये २ सिलिण्डर पडकिएपछि आगलागीले रौद्र रुप लिएको बताए ।

यता आगलागीको जानकारी पाए लगतै अवस्था बुझ्न जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार,प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र डिएसपी सन्तुलाल प्रसाद जयसवार लगायत समेत उपस्थित भएका थिए । जलेश्वर उद्योग वाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले आगलागी नियन्त्रणका लागि सवै निकायलाई गुहारेका थिए ।

हाल सुरक्षा निकाय र सवैको अथक प्रयासले आगलागी पुणर् नियन्त्रणमा आईसकेपनि कारण र क्षतिको विवरण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
