महोत्तरी-बिहीवारदेखि लगातार परिरहेको झरीका कारण महोत्तरीका सर्वसाधारणको दैनिकीमा प्रभावित भएको छ। निरन्तर वर्षाका कारण हिँडडुल गर्न नसक्नु,सामान्य कामकाज ठप्प हुनु र पशुधनका लागि चारा जुटाउन कठिनाइ हुनु प्रमुख समस्या बनेका छन्। गाउँघरमा सर्वसाधारण झरीका कारण थप कठिन परिस्थितिमा परेको जनाइएको छ।सबैभन्दा बढी प्रभावित हुने श्रमिक वर्ग, विशेष गरी खेतमा काम गर्ने मजदुर हुन्।
मजदुरीका काम गर्दै आएको औरही नगरपालिका –२ का सकिन्द्र सादाले भने, ‘यस्तै झरी भइरह्योे भने हामी जस्तो काम गरेर खाने मजदुर आर्थिक संकटको सामना गर्नुपर्छ। निरन्तर वर्षाका कारण समस्या उत्पन्न गरेको हो।’यता स्थानीय व्यापारीले पनि झरीका कारण व्यावसायिक गतिविधिमा गिरावट आएको बताउँछन्। पसलमा ग्राहकको चहलपहल न्यून हुँदा दशैँ जस्तो चाडपर्व नजिकिँदै गर्दा व्यापारमा अपेक्षित लाभ हासिल गर्न नसकेको औरही नगरपालिका –१ किसोरी साहको गुनासो छ।यता पशुपालक किसानहरू चारा र चरनको अभावमा थप समस्यामा छन्। वर्षाका कारण खेत डुबानमा परेका छन्, जसले गर्दा गाई–भैँसीका लागि आवश्यक चारा जुटाउन कठिन भइरहेको छ।
झरीले बालबालिका, वृद्धवृद्धा र विरामीको स्वास्थ्यमा पनि जोखिम थपेको छ। हिलो र पानीले भरिएका असुरक्षित सडकले आवतजावत जोखिमपूर्ण बनेको छ, जसका कारण स्वास्थ्य समस्या निम्तिन सक्ने डर छ।मौसम विभागका अनुसार यो क्रम अझै दुई दिनसम्म जारी रहने सम्भावना छ। विभागले ३ दिनसम्म लगातार झरी पर्ने अनुमान गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ।




