
महोत्तरी - महोत्तरीमा डा. सि.के. राउत अध्यक्ष रहेको जनमत पार्टीलाई ठुलो झटका लागेको छ । पार्टीका केन्द्रिय तह सहित जिल्ला र वडा स्तरका दर्जनौ नेताहरुले राजिनामा दिएपछि महोत्तरीमा जनमत पार्टीलाई यति ठुलो क्षति भएको हो । केहि दिन पुर्व महोत्तरी सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पार्टीको एक कार्यक्रममा पार्टी अध्यक्ष डा.राउतले आफ्नै विभिन्न नेता तथा कार्यकर्तामाथि अपशव्द प्रयोग गर्दै पार्टी कब्जा गर्न खोजेको लगायत विभिन्न अपमान जनक शव्द प्रयोग गर्दै स्पष्टिकरण समेत मांग गरेपछि यहि पार्टीमा रह्ने औचित्य नरहेको भन्दै आफुहरुले राजिनामा दिएको नेताहरुले बताएका छन ।

पार्टीका कार्यकारिणी समिति सदस्य समेत रहेका संजय स्वराजीले जनमत पार्टी एनजिओ रहेको आरोप लगाउदै डा. सि.के. राउतले डिक्टेटरसिप पार्टीमा चलाएको आरोप लगाए । उनले जनमत पार्टी बनाउ डा. राउतसंगै आफ्नो खुन पसिना बगाएपनि पार्टीमा उनी डा. राउत मालिक सरह आफ्नो निर्देशन दिन थालेपछि पार्टीमा बस्नुको औचित्य नै नभएको बताए । उनले नेता तथा कार्यकर्ताले विभिन्न कुरामा आफ्नो टिप्पनी राख्न खोज्दा वा सल्लाह दिन खोज्दा पार्टी नेताले ति सुझाव तथा सल्लाहलाई सुन्नु पर्ने भएकोमा त्यो कुरै नसुनि तथानाम अपमान जनक शव्दहरु प्रयोग गर्न थाल्दा पार्टीमा आफ्नै आत्मसम्मान बचाउन असहज भएपछि सामुहिक रुपमा आफुहरुले राजिनामा दिएको बताए । उनले जिल्ला अध्यक्षको मनोमानी तथा डा. राउतका केहि आसेपासेहरुको पार्टीभित्रको हैकमबादी कार्य तथा सोचलाई लिएर अगाडी बढ्न सक्ने अवस्था नरहेको बताए ।

यता केन्द्रिय सदस्य ईन्द्र प्रसाद सिंह,कोमल यादव,दिपेन्द्र मधेशी र मसुधन महतो समेतले पार्टी अध्यक्षको अपमानजनक शव्दले पार्टीमा बस्ने औचित्य समाप्त भएको बताए । उनीहरुले पार्टी परिवादवादमा लागेको,वैदेशिक रोजगारीमा रहेका युवाहरुले दिएको चन्दाबाट डा. राउतले जनकपुर तथा काठमाडौंमा घर समेत किनेको र युवाहरुलाई झुक्याईरहेको तथा मधेशको नाममा पार्टीको नाममा एनजिओ संचालन गरिरहेको आरोप लगाए । उनीहरुले राजनितिक ज्ञान नभएका र पार्टी अध्यक्षको हो मा हो भन्नेहरुलाई मात्र पार्टीमा स्थान दिइएको समेत बताए ।

पार्टीबाट कार्यकारिणी समिति सदस्य संजय स्वराजी सहित केन्द्रिय सदस्यहरु ईन्द्र प्रसाद सिंह,कोमल यादव,दिपेन्द्र मधेशी र मसुधन महतो तथा जिल्ला स्तरिय नेताहरु संतोष यादव,सिंहेश्वर मण्डल,राम जिवन साह,राम आधार भण्डारी,रोशन मधेशी,नरेन्द्र यादव,ई. प्रेमनाथ महतो,ई. राम पदार्थ महतो,हिरेन्द्र साह,बासुदेव यादव,जयचन्द्र ठाकुर,राजिव यादव,शिव शरण यादव,फुलो मण्डल र नितु साह सहित थप दर्जनौ नेता तथा कार्यकर्ताले राजिनामा दिएका हुन ।

