जलेश्वर - बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेकाले थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने भएकाले किसानहरू सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
धानखेती डुबानमा परेर समस्या हुने र सिंघारा खेतीमा कम मेहनत गरेर राम्रो आम्दानी हुने भएकाले यहाँका सयौँ बिघामा पानी जमेको जग्गामा अहिले सिंघारा (फल) खेती गरिएको जलेश्वर नगरपालिका–१ का किसान भोगिन्द्र पासवानले बताए । उनका अनुसार जमेको पानीमुनी लहरामा फल्ने सिङ्घारा एक प्रकारको गुलियो र सुन्दर फल हो । जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निक्कै लोकप्रिय छ ।
यस वर्ष भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा (काँडेदार गुलाफी रङ्गका सुन्दर र मिठो फल) सिंघारा खेती गरिएको छ ।
जलेश्वर–६ का किसान गोपी मुखियाले डुबानबाट आजित भएपछि पानी जम्ने क्षेत्रका धेरैजसो किसान यस खेतीतर्फ आकर्षित भएको बताए ।
यसवर्ष वर्षौदेखि बाँझो रहेको जलाशयमा पनि एक सय ५० बढी घरपरिवारले सिङ्घारा खेती गरेका जलेश्वर–२ का किसान भोला मुखियाले जानकारी दिए ।
सिंघारा प्रत्येक वर्ष असोज महिनादेखि नै तयारी हुन्छन् भने स्थानीय बजारमा आकार हेरेर प्रतिकिलो १०० देखि एक सय ६० सम्म बिक्री हुने गरेको र यसबाट आफूहरूले प्रत्येक वर्ष राम्रो आम्दानी गरिरहेका जलेश्वर–३ का किसान रामु सहनीले बताए ।
मिथिालाञ्चलभरि पूजाआजामा प्रसादका रूपमा प्रयोग हुने सिंघारा बालबालिका, बुढापाका र पेटका रोगीले बढी मन पराउने गरेका जलेश्वर–८ का किसान कलमुद्दिन राईनको भनाइ छ ।
सिङ्घारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारीका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु दुई देखि तीन लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय महादेव मुखियाले बताए ।
जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले सिंघारा खेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगकै रूपमा विकास गर्नुपर्ने बताए । उनले यस फलको खेती गर्ने किसानका लागि उद्योग वाणिज्य सङ्घले आगामी दिनमा विशेष प्याकेजसहितको कार्यक्रम ल्याउनेसमेत बताए ।