
जनकपुरधाम - नेपाली संस्कृति र परम्परा विशिष्ट खालकै छ । साउने सङ्क्रातिपछि बिस्तारै चाडपर्वले माहोल बनाउन थाल्छ । महिला विशेष रमाउने तिजले केही वर्षदेखि नेपाली बजारलाई चलायमान बनाउने गर्छ । यो पटकको तिजमा पनि पैसाको विस्तार राम्रै संग भएको व्यवसायी बताउने गर्छन् । कतिपय व्यवसायले अलि कोल्टो फेर्न पाए । मधेस प्रदेशको राजधानी जनकपुधाम लगायत देशका मुख्य सहरका पार्टी प्यालेसले पनि अलिकति जोहो गर्न पाए ।त्यसपछि सोह्रश्राद्ध ,नौरथा लाग्दै दसैँको माहोलले छोप्यो भने अहिले दिपावली, तिहार र छठ पर्वले बजारमा अत्यधिक चहलपहल बढेको छ।
हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाडहरु दसैँ , दिपावली, तिहार र छठ पर्वलाई हरेक वर्ष बजारले नयाँ-नयाँ रौनकता सहित स्वागत गर्ने गरेको हुन्छ ।

दसैँ सकिएर दिपावली, तिहार र छठ पर्वले छोपिएको यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरधामको बजारसहित देशभरिकै बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ ।
किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेय पदार्थ, मोवाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिज लगायत विद्युतीय उपकरणका पसलहरुमा किनमेल गर्नेहरुको भीड अत्याधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।

दसैँ पछि लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न छुटका कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैँ तिहार र छठ पर्वमा उपभोग हुने अनुमान गरिन्छ।
लामो बिदा र घरपरिवार, आफन्त, साथीभाई जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशिर्वाद लिने दसैँ पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन् । यसले बजारमा बहार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थशास्त्रका विज्ञहरु बताउँछन् ।

जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका जितेन्द्र मण्डल वर्षभरि हुने घरयासी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउँछन्। उनले उद्योगी व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरु सहित ग्राहकलाई लोभ्याउने गरेको बताए।
दसैँ, दिपावली र छठपर्वको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ , जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन्, टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायतका खरिदकर्तालार्ई दसैँको बेला दिइने छुट नै पर्खेर बस्ने बानी लागि सकेको उहाँको भनाइ छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, सञ्चार सेवाप्रदायक तथा होटल रेस्टुरेन्टले दसैँ तिहार लक्षित प्याकेज बिक्री गर्न थालेका छन् ।

चाडपर्वले बजारलाई गुलजार बनाउने भएकाले दसै देखि छठपर्व सम्म विक्रेताले छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैँ तिहार र छठ पर्व केन्द्रित किनमेलको चाप बढ्दो छ । दसैँ, तिहार र छठ लगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको अर्थशास्त्रका प्राध्यापक प्रभात घिमिरेले बताए।
रोजगारी वा अध्ययनका लागि नेपाल बाहिर रहेका व्यक्तिहरु पनि दसैँ, तिहार र छठ पर्व मनाउन आ-आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दसैँमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।
सरकारले दसैँको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य संघसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने गरेका छन् । यतिबेला बजारमा पैसा चलायमान हुने भएकाले दसैँलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा. सुरेन्द्र लाभको भनाइ छ ।
मुलुकमा निजामती, शिक्षक, सेना, प्रहरी लगायत करिब ५ लाख सरकारी कर्मचारी छन् । प्रतिकर्मचारीको मासिक तलब सरदर ३५ हजारका दरले हिसाब गर्दा एकमुष्ट १७ अर्ब ५० करोड रूपैयाँ हुन्छ । एक महिनाको तलब बराबर दसैं खर्च पाइन्छ ।
त्यसैगरी करिब सवा नौ लाख उद्योग, प्रतिष्ठान, कलकारखाना, साना तथा मझौला व्यवसायमा कार्यरत ३२ लाख कर्मचारी छन् । ती कर्मचारीले सरदर मासिक तलब १५ हजार रूपैयाँका दरले हिसाब गर्दा एकमुस्ट ४८ अर्ब रूपैयाँ हुन्छ । उनीहरूले तलबका अतिरिक्त दसैं भत्ता मात्रै करिब ६६ अर्ब रूपैयाँ पाउँछन् । यो बाहेक व्यापार व्यवसाय, खेतीपाती गर्नेले पनि दसैंमा राम्रै खर्च गर्छन् । वैदेशिक रोजगारीमा गएकाले दसैं , तिहार र छठपर्व मनाउन घरमा पैसा पठाउने गर्छन् । यसरी हेर्दा दसैं, तिहार र छठपर्वमा करिब एक खर्ब रूपैयाँ बढी रकम खर्च हुने अनुमान छ । यसले अर्थतन्त्र विस्तारमा टेवा पुग्छ ।

दसैंले बजारमा चहलपहल बढाएको नेपाल चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्ष पवन ठाकुरले बताए । ‘दसैंमा सरकारी तथा निजी क्षेत्रमा काम गर्नेले तलबका अतिरिक्त दसैं खर्च पाउँछन् । उनीहरूले त्यो पैसा खर्च गर्छन्,’ ठाकुरले भन्नुभया, ‘यसले बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल बढाएको छ ।’ दसैं मिठोमसिनो खाने, राम्रो लगाउने चाड भएकाले उपभोग्य वस्तुको माग बढेको उनले बताए। ठाकुरले भन्नुभयो, ‘शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुगेको छ। दसैंमा आम्दानी र खर्च दुवै बढ्ने भएकाले अर्थतन्त्रलाई राम्रै गर्छ ।’
दसै, तिहार, छठ पर्वको समयमा धेरै मानिस सहरी क्षेत्रबाट आफ्नो जन्म स्थल ग्रामीण क्षेत्रमा पुग्छन् । यी चाडपर्वले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पनि सघाएको छ । कुनै निकायसँग आधिकारिक तथ्यांक नभए पनि दसैंका बेला एक अर्बभन्दा रूपैयाँ बढी खर्च हुने अनुमान गरिन्छ ।
दसैँ तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको गर्छ । ‘पहिले पनि दसैँं तिहार अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैँं तिहार विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’ अर्थशास्त्री डा. लाभले भन्छन् ।
पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैँ तिहार र छठ पर्वको समयमा विदेशबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउन र भदौमा रेमिट्यान्स मार्फत २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार औषतमा दसैँताका मात्र करिब रु १०-१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ। यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको संख््यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।
अर्थविद्हरुका अनुसार दसैँ तिहार अघिका दुई-तीन हप्ताको अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दसैँ, तिहार र छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा. लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ ।
दसैँंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खड्काको भनाइ छ । अध्यक्ष खड्काको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।
यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा निकै चहलपहल बढेको छ । जनकपुरका मुख्य बजारहरु शिवचोक, रामचोक, मुरलीचोक, जानकी चोक लगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ ।
जनकपुरधाममा लगायतको ठाउँमा सस्तो बजारको नाममा चिनिने विशेष बजार दसै देखि छठ पर्व सम्म संचालन हुने गर्दछ। यस्ता बजारमा स्थानीय तथा राष्ट्रिय उत्पादनहरू बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने गर्दछ ।