
जनकपुरधाम - लोक आस्थाको चार दिवसीय छठ पर्व अन्तर्गत आज खरना मनाइँदैछ। छठ पर्वको पहिलो दिन मंगलवार व्रतालुहरुले नहाखाए अर्थात नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ ।
यो दिनमा व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । आज पञ्चमी तिथि (दोश्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । जनकपुरधाम किशोरी नगरकी एक व्रतालु ज्योती झाले बताइन्, “ खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।” उहाँले प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन रहेको बताउनुभयाे।
खरना विधिको सन्दर्भ महेन्द्रनगरकी ७५ वर्षीया गीता झा भन्छिन्, “आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।” षष्ठीका दिन (तेश्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरीन्छ ।
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी ६५ वर्षीया संगीता देवी यादवले छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनु पर्ने बताउँँदै उनले भनिन्, “पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ ।” यस दिन जलासयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ दिइने गरीन्छ। पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याउँछन् र प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
पण्डीत लालबाबु झाका अनुसार अर्घ दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी बताउँछन् , “सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो, छठ ।” छठ पूजाको लागि अहिले जनकपुर सहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरि सिंगारिएको छ।
श्रद्धालुहरुले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्। दिपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पुरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।