
जनकपुरधाम - कार्तिक छठ पर्वअन्तर्गत आज दोस्रो दिन (बुधबार) खरना विधि सम्पन्न भएको छ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो ।
खरनाको दिन व्रतालु दिनभरि निर्जला बसेर अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाएका थिए । प्रसादका रुपमा विशेषगरी पाकेको केरा ,पायस (खिर) र पुरी लिने चलन छ।

यो दिन व्रतालुले आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरि राति चन्द्रोदयपछि चन्द्रमालाई पायस चढाइ सोही प्रसाद ग्रहण गरेका छन् । यसदिनपछि व्रतालुले पूणर् व्रत लिनुपर्दछ ।

छठको तेस्रो दिन अर्थात षष्ठीमा गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान-पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ । यसदिन जलासयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ दिइने गरिन्छ । छठको चौथो तथा अन्तिम दिनलाई पारन (पार्वण) भनिन्छ ।
यसदिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याउँछन् । प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
