महोत्तरी- बर्दिवासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको बर्दिबास ५ स्थित टुटेश्वरको जङ्गलमा भएको सवारी दुर्घटनामा सर्लाही ईश्वरपुर १२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीका अनुसार उपचारका लागि असपतालतर्फ ल्याउँदै गर्दा मगरातीको बाटो मै मृत्यु भएको हो।



त्यसैगरी दुर्घटनामा परि बर्दिबास ७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर १२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएका छन् ।
प्रहरी सहयोगमा अस्पतालमा भर्ना गरिएका उनीहरूको टाउको, छाती र कम्मरमा चोट लागेको छ । अस्पताल श्रोतकाअनुसार घाइतेको अवस्था मध्यम छ ।
बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार ट्रेलरमा मान्छे बोकेर महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नंम्बरकाे ट्याक्टरलाई सोही दिशातर्फ गइरहेको ना ८ ख ३१६ नंम्बरकाे ट्रिपरले शुक्रवार साँझ करिब ७ बजे पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
प्रहरीकाअनुसार मृतक र घाइतेहरू सबै ट्याक्टरको ट्रेलरमा बसेर सर्लाही तर्फ जाँदै थिए ।
दुर्घटनामा संलग्न दुवै सवारी सहित चितवन रत्न नगर ११ का ३९ वर्षीय ट्रिपर चालक जितबहादुर लोप्चन र सर्लाही ईश्वरपुर १२ का १९ वर्षीय ट्रयाक्टर चालक शीतल गौतमलाई बर्दिबास प्रहरीले नियन्त्रणमा लिएको छ ।




