
जनकपुरधाम - जनकपुरधाम सहितका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज अमलाको रुखको पूजा गरि अक्षय नवमी पर्व मनाइँदैछ।मिथिलामा धातृ नवमी र इच्छा नवमी समेत भनिने अक्षय नवमी सामूहिक भोजन गरिने रमाइलो चाड हो ।कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा अनुसार आज अक्षय नवमी मनाइँदै गरिएको हो।
पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ।अक्षय नवमीको अवसरमा आज मधेस प्रदेशको राजधानी जनकपुरधाम सहित सबैजसो जिल्लाका गाउँ शहर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्र मै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ।
अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ।अक्षय नवमी विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार तथा पूर्व सिडिओ समेत रहेका जनकपुरधाम किशोरी नगरका राजेन्द्र झाले बताए ।

आज अक्षय नवमीमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन्।सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन्। सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा जनकपुरधामका पत्रकार शैलेन्द्र झाको भनाईछ ।
पर्व विशेषमा धनुषा सहित छिमेकी जिल्ला वरिपरिका वन क्षेत्रमा अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन्।खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको स्त्री रोग विशेषज्ञ डा. मुरारी ठाकुरले बताए।
मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमी समेत भनिने गरिएको छ। यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंशको वध गर्न पूर्व मथुरा,बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार तथा मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले बताए।

पण्डित इन्द्रकान्त झाका अनुसार कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ। अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ।इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमी समेत भन्ने गरिएको संस्कृतिविद भोगेन्द्र झाले बताए ।अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवा बताउँछन्।
यस्तो छ अक्षय नवमीको कथा काशी नगर मा एक निःःसंतान धर्मात्मा वैश्य बस्थे । एक दिन वैश्यको पत्नीलाई एक छिमेकीले भनिन् कि यदि कुनै अर्को महिलाको छोराको बली भैरवजीलाई चढायौं भने तिम्लाई पनि पुत्र प्राप्ती हुनेछ । यस बारेमा वैश्यलाई थाहा भएपछि यस्तो गर्नु हुँदैन भनेर अस्वीकार गरिदियो ।तर उनकी पत्नीले मानिनन् । एक दिन उसले एक बालिकालाई कुवाँमा ढकेलेर भैरवजीलाई बलि दिईन्,तर यस हत्याको परिणाम विपरीत निस्कियो ।
वैश्यकी पत्नीको सारा शरीरमा कुष्ठ रोग भयो र बालिकाकी आत्माले उसलाई परेशान गर्न थालिन् । वैश्यले सोध्दा उसले पतिलाई सबै कुरा बारे जानकारी दिईन् । वैश्यले पत्नीलाई भन्यो,ब्राह्मण वध, बाल वध र गौ हत्या पाप हो,यस्तो गर्नेलाई यस धर्तीमा कुनै ठाउँ पाईदैन । वैश्यकी पत्नी आफूले गरेको कार्य प्रति निकै पछुतो भएको र लज्ज्ति भईन् । अनि वैश्यले उसलाई भन्यो कि तिमी गंगाजीको शरणमा गएर भगवानको भजन किर्तन गर्नु र गंगा स्नान गर्नु अनि तिम्लाई यस रोगबाट मुक्ति मिल्ने छ ।
त्यस पछि वैश्यकी पत्नी गंगाजीको शरणमा गएर भगवानको भजन किर्तन गर्न थालिन्। गंगाजीले उसलाई कार्तिक शुक्ल पक्षको नवमी तिथिमा अमलाको रुखको पूजा गर्ने सल्लाह दिएकी थिईन् । गंगाजीको सल्लाह अनुसार महिलाले यस तिथिमा अमलाको रुखको पूजा गरेर अमला पनि खाया खाएकी थिईन् र जसले गर्दा उनि रोगमुक्त भएकी थिईन् ।
अमलाको रुखको पुजा एवं वर्तको कारण उनलाई केहि समय पश्चात सन्तान पनि प्राप्त भयो, त्यस बेला देखि हिन्दु धर्ममा यस वृतको प्रचलन बढ्न थाल्यो र अहिले यो परम्परा सुरु भयो ।