महोत्तरी- नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्मा शुक्रवार महोत्तरीको रामगोपालपुर आउँने भएका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा यहि मंसिर १६ गते हुन गईरहेको वडा अध्यक्षको उपनिर्वाचनकालागी काँग्रेसको चुनावी आमसभालाई सम्बोधन गर्न शर्मा आउने नेपाली काँग्रेस महोत्तरीले जनाएको छ ।
आसन्न मंसिर १६ गते हुने रामगोपालपुर वडा नम्बर २ को स्थानीय उपनिर्वाचनलाई मध्यनजर गर्दै आयोजना हुन लागेको सभालाई शर्मा लगायत कांग्रेसका बिभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। रामगोपालपुर –२ मा रिक्त वडा अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दर्ता गराएपनि २ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। वडाअध्यक्ष पदका लागि ८ जना राजनितिक दल र १२ जना स्वतन्त्र उमेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रामगोपालपुर वडा नम्बर २ मा नेपाली कांग्रेसका मो.जनिफ खान उम्मेदवार रहेकाले बिशेषगरी उनैलाई निर्वाचनमा बिजयी गराउन र काँग्रेसको बिचारलाई जनताको घर दैलो सम्म पुर्याउन समेत आमसभा गर्न लागिएको कांग्रेसका एक नेताले बताए । दुई महिनाअघि मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि रिक्त रहेको उक्त पदमा उपनिर्वाचन हुन लागेको बताईएको छ ।
२ हजार २ सय मतदाता रहेको वडा नम्बर २ मा गत निर्वाचनमा मुकेश यादवले ४३३ मत ल्याएर वडाध्यक्ष पदमा विजयी भएका थिए भने उनका प्रतिस्पर्धीहरू कांग्रेसका मोहोम्मद जनिफ खाँले ३७५ र जसपा नेपालका सकिबुल खाँले ३४२ मत पाएका थिए। काँग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनलाई लक्षित गरेर देशभरका उपनिर्वाचन हुँने स्थानमा चुनावी सभा गर्न लागेको सो पार्टीले जनाएको छ ।