जनकपुरधाम - कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा दाइँ गर्ने परम्परा गाउँघरबाट लोप हुँदै जान थालेको छ ।
धनुषाका अधिकांश किसान केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा धान र परालको दाइँ गर्दै आएका थिए । पछिल्लो समय आधुनिक थ्रेसर मेसिन र ट्रयाक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा लोप हुन लागेको हो ।
खेती किसानी पनि गर्दै आएका जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति रामदेव यादवले पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्याक्टरको सहायताले दाइँ गर्न थालिएको बताए ।
‘एक दशकअघिसम्म खेतका फाँटमा खलो बनाइ धान, मसुरो, तोरी, गहुँ लगायतका अन्न झार्ने गरिएको थियो । बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाएर बोट कुल्चाइ दाइँ गर्ने परम्परा थियो,’ उनले भने, ‘तर पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।’
गाउँघरमा अर्मपर्म गरेर खेती गर्ने चलन हट्न थालेपछि ट्याक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको क्षीरेश्वरनाथ नगरपालिका–४ वडाध्यक्षसमेत रहेका किसान जगदीश यादवले बताए । उनका अनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हराउँदै जान थालेको छ ।
थ्रेसर मेसिन, ट्रयाक्टरको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए पनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको आभास भएको क्षीरेश्वरनाथ– ५ महेन्द्रनगरका अवकास प्राप्त विज्ञान शिक्षक रामशंकर यादवको धारणा छ ।
‘मेसिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले वातावरणमा नकारात्मक प्रभाव पर्नुको साथै जनस्वास्थ्यमा समेत असर परेको पाइएको छ,’ उनी भन्छन्, ‘श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्ध–वृद्धालाई बढी असर गर्ने गरेको छ । आँखामा धुलो परेर समस्या सिर्जना हुने गरेको पनि छ । तर खेतमै खलो बनाएर दाइँ गर्दा त्यस्तो समस्या हुँदैन थियो ।’
युवाशक्ति विदेश पलायन हुनु, गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएकाको ज्याला खर्च महँगो भएकाले पनि जिल्लाका किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् । जसबाट अन्न झार्ने तथा पराल, भुसा वा नल एकै पटकमा माडिने हुँदा समय, श्रम र पैसाको बचत हुने गरेको किसान स्वयं बताउँछन् ।