महोत्तरीमा गत कात्तिक १२ गते एक जना महिलाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्यो ।
जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर–७ स्थित दनौलीमा २५ वर्षीया महिलाको हत्या घाँटी थिचेर गरिएको थियो । उनको शव स्थानीय अशोक ठाकुरको आपँको बगैँचाको नजिकैको डिलबाट प्रहरीले उद्दार गरेको थियो ।
तर प्रहरीको सूक्ष्म अनुसन्धानले महिलाको पहिचान मात्रै खुलाएन, घटनाको निष्कर्षमै पुर्यायो। धनुषाको शहिद नगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी अन्दाजी २६ वर्षीया मालती मण्डलको पहिचान खुलेसंगै विवाहेत्तर सम्बन्धका कारण मालतीको हत्या भएको प्रहरी निष्कर्ष रहयो ।
जसकारण हत्यामा संलग्न रहेको आरोपमा दुइजना पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका वडा नम्बर ५ का राकेश नायक र उनकी श्रीमती रीना नायकलाइ पक्राउ गरिएको महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवारको भनाइ छ ।
यही कात्तिक १ गते बीरगन्जका बिरेन्द्र साह सोनार बारामा मृत भेटिए । उनी गण्डक नहरबाट मृत भेटिएका प्रहरीको भनाइ छ ।
घटनास्थलमा शवको उद्दार गर्न पुगेको प्रहरी टोलीले उनको मृत्यु नभइ हत्या भएको आंशका गर्यो। त्यसपश्चात प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्न विशेष टोली परिचालन गर्यो । प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरेकाले हत्याको भएको एक सातामै मुख्य अभियुक्त पक्राउ गर्न सफल भयो ।
प्रहरीको टोलीले गरेको एक साताको सूक्ष्म अनुसन्धानमा यो घटना पनि विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको निचोड निकाल्यो । यस्तै असोज २७ गते सिरहामा आफ्नो ‘गर्लफ्रेन्ड’ संग साथीहरुले राखेको यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा प्रेमीको हत्या भयो ।
जिल्लाको सुखीपल नगरपालिकामा कृष्ण महराको ‘गर्लफ्रेन्ड’ संग साथीहरुले आफूहरु पनि यौन सम्पर्क गर्ने प्रस्ताव राखेका थिए । तर उनले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि त्यही निहुँमा उनको हत्या गरिएको सिरहा प्रहरीले जनाएको छ ।
यी तीन त प्रतिनिधिमूलक घटनाका उदाहरण मात्र हुन् । मधेस प्रदेशमा बैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध तथा अनैतिक सम्बन्धका कारण ज्यान गुमाउनेको सूचि लामै छ ।
वितेको चार वर्षको अवधिमा मधेसमा यस्ता सम्बन्धका कारण शृंखलावद्ध हत्याका घटनाहरु भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । पछिल्ला चार वर्षमा प्रदेशका हरेक जिल्लामा यस्ता ३२ वटा घटनाहरु भएका छन् । जसमा दुइ जना नाबालिकासहित ३३ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७८/०७९ देखि ०८१/०८२ को कात्तिक १५ सम्ममा बैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध तथा अनैतिक सम्बन्ध राख्दा ३३ जनाको मृत्यु भएको प्रहरी विवरण छ ।
महिलाको मृत्यु बढी
मधेस प्रहरीका अनुसार प्रदेशमा प्रेम सम्बन्धका कारण महिला तथा पुरुषले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । तर पुरुषको तुलनामा महिलाको मृत्यु हुने बढी रहेको प्रहरी बताउँछ ।
बैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध तथा अनैतिक सम्बन्धले निम्ताएको घटनामा आधाभन्दा बढी महिला छन् । अर्थात् यसरी ज्यान गुमाउनेहरुमा २४ जना महिलाहरु मात्र छन् । प्रदेशका फरकफरक जिल्लाहरुमा यो वर्षको अवधिमा दुइ जना नाबालिकासहित २४ जनाको मृत्यु भएको प्रहरी रेकर्ड छ ।
कुन वर्ष कति ?
प्रदेश प्रहरीले दिएको तथ्यांक अनुसार मधेसमा गत वर्ष ०८०/०८१ सबैभन्दा बढी हत्याका घटना भएका छन् ।
यो वर्ष प्रदेशमा भएका ११ वटा घटनाका कारण एक नाबालिकासहित एघार जनाको मृत्यु भएको छ । यसैगरी ०७८/०७९ मा सात घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यो सालमा पनि एक नाबालिकासहित ८ जनाको ज्यान गएको छ ।
यस्तै ०७९/०८० सालमा ६ घटनामा ६ जना तथा ०८१/०८२ को कात्तिक १५ गतेसम्म ८ घटना भएका छन् । जसमा पाँच महिला तथा ३ जना पुरुष गरी ८ जनाको ज्यान गएको छ ।
प्रदेश प्रहरीका अनुसार मधेसका सबै जिल्लामा बैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध तथा अनैतिक सम्बन्धले हत्या निम्त्याएको छ । तर सबैभन्दा बढी ज्यान गुमाउनेमा रौतहट र पर्सा जिल्ला छ ।
रौतहट र पर्सामा मात्र यो चार वर्षमा क्रमशः सात/सात जनाले ज्यान गुमाएका छन् ।
के भन्छ प्रहरी ?
मधेस प्रदेश प्रहरी प्रवक्ता सुवास चन्द्र बोहराका अनुसार मूलतः अशिक्षाका कारणले यस्ता घटनाहरु भइरहेका छन् ।
यस्तै दाइजो प्रथाले पनि मधेसमा यसप्रकारका घटनाहरु निम्ताएका उनी बताउँछन् । ‘मधेसमा यो चार वर्षमा बैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध तथा अनैतिक सम्बन्ध राखेर धेरैले ज्यान गुमाएका छन्, जुन सरासर गलत हो । विशेष गरी विवाह सम्बन्धमा आउने दरार, अपहेलना पर्नु पनि यस्ता घटना हुनुको प्रमुख कारण हुन्,’ प्रहरी प्रवक्ता बोहरा भने, ‘अझै कसैको अनैतिक सम्बन्धबारे समाजमा हल्ला हुँदा पनि उनीहरु बदनामी महसुस गर्छन तथा उनीहरुको सामाजिक इज्जतमाथि नै दाग लाग्न जान्छ, जसले यस्ता घटना घटाउँछ ।’
यस्ता घटनाहरु रोक्नका लागि प्रहरीले विभिन्न सचेतनामूलक अभियानहरु चलाएको उनी सुनाउँछन् । प्रहरीले गृह आवास तथा व्यवस्थापन कार्यक्रम लागू गरी प्रदेशभर जनचेतना फैलाउने कार्य गरिरहेको उनको भनाइ छ ।
यसका अलावा आत्महत्या न्यूनिकरण सम्बन्धि कार्यक्रम तथा प्रहरी कार्यलयहरु अन्र्तगतका महिला सेलहरुबाट समेत विभिन्न चेतना फैलाउने गरेको प्रवक्ता बोहराले बताए ।