काठमाडौं – नेपाल पत्रकार महासङ्घको आगामी २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल एमाले र कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबीच भागबन्डा भएको छ ।
महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको र युनियनले ८ पदमा उम्मेदवारी दिने भएको हो ।



त्यसैगरी जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको प्रेस चौतारीका उपाध्यक्ष राजेश राईले जानकारी दिए ।
चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक र २२ सदस्य पाएको छ ।
बाँकी पदाधिकारीमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ ।
प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ ।महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ता भइरहेको छ ।




