महोत्तरी- औरही नगरपालिका वडा नम्बर ८ टिम्किया घर भएकी स्ट्रगलिँग महिलाको नामले चिनिएकी सरिता साहको निर्देशनमा बनेको चलचित्र “सिया” लाई विशेष अवार्ड प्रदान गरिएको छ ।
रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाको आयोजनामा ‘पाँचौँ आइर्वाट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ मा साहको चलचित्र “सिया” को लागि विशेष अवार्ड दिइएको हो ।
शनिवार पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा महोत्तरीकी चर्चित कलाकार सरिता साहले निर्देशन गरेको ‘सिया’ लाई विशेष अवार्डबाट सम्मान गरिएको हो । सो प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीले निर्देशन गरेको ‘द कल’ विजेता घोषणा भएको छ । भने रजिला श्रेष्ठले निर्देशन गरेको ‘छेसाङ’ लाई विशेष पुरस्कार (स्पेसल अवार्ड) प्रदान गरिएको हो ।
प्रतियोगितामा १८ वटा छोटा चलचित्र सहभागी भएका थिए ।
अनुपा श्रेष्ठ, रक्षासिंह राणा र अविरल थापा निर्णायक रहेको समूहले अन्तिम प्रतिस्पर्धाका लागि पाँच चलचित्र छनोट गरेको थियो ।विजेता बाहेक हिमानी शाह पराजुलीले निर्देशन गरेको ‘म पढ्न चाहन्छु’ र सोफिया महर्जन कार्कीको ‘द गर्ल शट अफ दार्चुला’ कार्यक्रममा प्रदर्शन गरिएको थियो।




