जनकपुरधाम - धनुषामा महिलाको विभत्स हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई सार्वजनिक गरेको छ। विदेह नगरपालिका–५ मुरिबाकी ४० वर्षीया रामपरी देवी ठाकुरको हत्या आरोपमा स्थानीय ५० वर्षीय सगमलाल पासमानलाई पक्राउ गरी धनुषा प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
गत मंसिर १८ गते दिउँसो साढे ४ बजे घाँस काट्न घरबाट निस्किएकी रामपरी देवीको भोलिपल्ट विभत्स अवस्थामा शव फेला परेको थियो। शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा उनको शरीर फेला परेको थियो भने टाउको घटनास्थलबाट करिब २०५ फिट टाढा कमला नहरको झाडीमा भेटिएको थियो।
प्रहरीले घटनास्थलबाट रगत लागेको चिरपट, चप्पल, र अन्य सामग्री बरामद गरेको थियो। अनुसन्धानको क्रममा सगमलालको घरमा गरिएको खानतलासीमा सुटकेसभित्र रगत लागेको निलो पाइन्ट, हरियो भेष्ट, पहेँलो ज्याकेटसहित अन्य सामग्री भेटिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक महिलासँग घटनाको अघि सगमलालको फोन सम्पर्क रहेको पुष्टि भएको छ। यद्यपि, हत्याको कारणबारे प्रहरीले खुलासा नगरेको भए पनि एक प्रहरी अधिकारीका अनुसार घटना यौनसँग सम्बन्धित विवादको कारण छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।
यो पनि पढ्नुहोस :
धनुषामा एक महिलाको विभत्स हत्या, टाउको र शरीर छुट्टाछुट्टै स्थानमा भेटियो