
बाराको जितपुरसिमरा उप-महानगरपालिका- ११ स्थित सडक छेउमा कारभित्र मृत भेटिएका रुम्बाको गोली हानी हत्या भएको पुष्टि भएको छ।
गत शनिवार बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र सिमरा बिमानस्थलमा नेपाल प्रहरीको कार्यालय सहयोगीको रुपमा कार्यरत राजकुमार रुम्बा मृत भेटिएका थिए।
उक्त कार सिमरा विमानस्थलमै कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको भएको खुलेको थियो।
रुम्बाले निरीक्षक तिवारीसँग कार मागेर बाहिर निस्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कारको ड्राईभिङ सिटमा मृत भेटिएका उनको टाउकोको पछाडी भागमा गहिरो चोट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार रुम्बाको टाउकोमा एक राउन्ड गोली हानिएको शवको पोष्टमार्टम रिपोर्टमा देखिएको बताए।
घटना सम्बन्धमा प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेकोले हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने प्रवक्ता सापकोटाको भनाई छ।