काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफूलाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेको निर्णयबाट विचलित नहुने टिप्पणी गरेका छन्।
बुधबार बसेको सचिवालय बैठकले आफूलाई पदमुक्त गरेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । रावलले एमालेको सो निर्णयलाई ओली प्रवृत्तिको निरन्तरता भनेका छन् । यसबाट आफू विचलित नहुने बताएका उनले ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको प्रतिक्रिया दिए ।
‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्’ उनले भने, ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्न ।’
लामो समयदेखि पार्टीको नीतिसँग असहमति राख्दै आएका उनले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने एमालेको निर्णयप्रति विरोध जनाएका थिए ।