महोत्तरी – मधेश प्रदेशका ३ लाख ६९ हजार १ सय २४ किशोरीलाई पाठेघरमा लाग्ने क्यान्सरकाविरुद्धमा एचपिभि खोप दिने तयारी गरिएको छ । माघ २२ गतेदेखि प्रदेशभरिका ३ हजार ३ सय २५ विद्यालय तथा विद्यालय बाहिरका गरि ३ लाख ६९ हजार १ सय २४ बालिकाहरुलाई खोप लगाउने भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरिका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई सो खोप लगाउने भएको छ ।



स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकका अनुसार खोपसहितका अन्य आवश्यक सामाग्रीहरू मधेश प्रदेशका सबै जिल्लाहरूमा पठाउने काम भइसकेको बताए। उनले खोप लिनबाट कोही नछुटोस् भनेर अभिभावक तथा शिक्षकलाई सचेत रहन अभिमुखीकरण गरिसकेको उनले बताए।




