
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेको छ । ट्रम्प प्रशासनले यूएसएआईडीलाई बन्द गरेर परराष्ट्र मन्त्रालयमा गाभ्ने घोषणा गरेको हो ।
अमेरिकाको ‘सरकारी दक्षता विभाग’का निर्देशक एलन मस्कले आफू र राष्ट्रपति ट्रम्पले ‘यूएसएआईडी’ बन्द गर्न लागेको घोषणा गरेका हुन् । मस्कले सोमबार आफ्नै सामाजिक सञ्जाल ‘एक्स’द्वारा आयोजित एक प्रत्यक्ष सत्रमा बोल्दै यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग विस्तृत कुराकानी भएको बताएका थिए । ‘यसलाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत छन्,’ मस्कले भनेका छन् ।
यूएसएआईडी सुधार्नै नसक्ने अवस्थामा पुगेको मस्कको दाबी छ। सहायता एजेन्सीका कर्मचारीहरूलाई घरमै बस्न भनिएको छ । मस्कको घोषणासँगै यूएसएआईडीका कर्मचारीहरूलाई सूचना जारी गर्दै वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ । समाचार संस्था रोयटर्सले सयौं कर्मचारीलाई बिदामा पठाइएको जनाएको छ।
त्यससँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको समाचार संस्था एपीले जनाएको छ। यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाइएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यूएसएआईडी विदेश मन्त्रालयअन्तर्गत ल्याइएको र आफू कार्यवाहक प्रशासक भएको बताएका छन् । यूएसएआईडीको जनशक्तिमा भारी कटौती गरिने र मानवीय सहायता एजेन्सीका रूपमा रहने ट्रम्प प्रशासनले जनाएको छ ।
एजेन्सीले नेपाललगायत विश्वभर अर्बौं डलरको सहायता वितरण गर्दछ । ट्रम्पको निर्णयले यसमार्फत् सञ्चालित स्वास्थ्य र पोषणसम्बन्धी धेरै कार्यक्रमलाई असर गर्ने निश्चित छ । यूएसएआईडीले विश्वभरका गैरसरकारी संस्था, सहायता समूह र गैर-लाभकारी संस्थाहरूलाई अरबौं डलर सहायता प्रदान गर्दछ।
यूएसएआईडीले युक्रेन, इथियोपिया, जोर्डन, कङ्गो, सोमालिया, यमन, अफगानिस्तान, बंगलादेश, म्यानमार, नाइजेरिया, दक्षिण सुडान र सिरियालाई महत्वपूर्ण सहायता प्रदान गर्दछ।
अमेरिकी राष्ट्रपतिले यसअघि ९० दिनका लागि विदेशमा दिइने सबै प्रकारका सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । विदेश नीति पुनरावलोकन नभएसम्म यो प्रतिबन्ध लागू हुनेछ।
तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा यूएसएआईडी स्थापना गरेका थिए। यसमा विश्वभर करिब १० हजार कर्मचारीहरू छन् । यसको वार्षिक बजेट करिब ४० बिलियन डलर छ, जबकि विदेशी सहायताका लागि अमेरिकी सरकारको कुल बजेट ६८ बिलियन डलर छ।
राष्ट्रपति ट्रम्प र उनका शीर्ष सल्लाहकार अर्बपति एलन मस्क यूएसएआईडीको कठोर आलोचक हुन् ।
गत सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो एजेन्सी ‘कट्टरपन्थी वामपन्थी’द्वारा सञ्चालित भएको आरोप लगाएका थिए ।
ट्रम्प प्रशासनमा सरकारी खर्च कटौती गर्न बनेको विभागका अनौपचारिक प्रमुख मस्कले पनि यूएसएआईडी बन्द गर्ने कुरा गरेका थिए । गत हप्तामा यूएसएआईडीका दुई शीर्ष अधिकारीहरूलाई बिदामा पठाइएको थियो । यूएसएआईडीविरुद्ध भ्रष्टाचार र आर्थिक अनियमितताको आरोपबाहेक मस्कले धेरै गम्भीर आरोप लगाएका छन् ।