मधेस प्रदेशसभाले सञ्चारसम्बन्धी बनाएको दुई वटा ऐन एकीकृत गर्ने तयारी सुरु भएको छ। बुधबार गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई संशोधनसहित एकीकृत गर्ने खाका बुझाइएको हो।
संशोधन समितिले प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ र प्रदेश एफएम रेडियो सञ्चालन ऐन २०७७ मा आवश्यक संशोधनसहित एकीकृत गर्ने खाका मन्त्रीलाई बुझाइएको संशोधन समितिका संयोजक तथा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।



उनका अनुसार दुवै विधेयकमा त्रुटि हुँदा कार्यानव्यनमा समस्या आएपछि मन्त्रिपरिषद्को गत असोज २१ गतेको निर्णयले संशोधन समिति गठन भएको थियो।
दुवै ऐन एक–अर्कासँग बाझिने अवस्था देखिँदा संशोधनसहित एकीकृत गर्ने तयारी भइरहेको संयोजक यादवको भनाइ छ। सोही कारण प्रदेश एफएम रेडियो सञ्चालन सम्बन्धि ऐनको नियामवली समेत हालसम्म नबनाएको उनले बताए।
‘दुवै ऐनमा त्रुटि देखिएको थियो। जसले गर्दा कार्यान्वयनमा अवरोध भइरहेको थियो,’उनले भने,‘जुन समय ऐन बन्यो त्यो समय आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल मधेस प्रदेशमा थिएनन्। त्यसकारण उक्त ऐनले कतिपय सम्बन्धित कार्यालयलाई पनि चिन्ने अवस्था थिएन।’
प्रदेश सञ्चारसम्बन्धि ऐन २०७७ भदौ ६ गते प्रमाणीकरण भएको थियो भने प्रदेश एफएम रेडियोसम्बन्धि ऐन २०७७ साउन ५ गते प्रमाणीकरण भएको थियो।




