महोत्तरी – जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण महोत्तरीका दुईवटा स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सफल भएनन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । तर, विवाद रहेको यहाँका गौशला नगरपालिका र सोनमा गाउँपालिकाले असार ११ गते सम्म नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेनन् ।



गौशलामा आन्तरिक तयारी नपुगेको कारण बजेट ल्याउन नसकेको मेयर डा. दिपेन्द्र महतोले बताउनुभयो। त्यसैगरी सोनमा पनि जनप्रतिनिधिहरु बीच आपसी द्वन्द्वका कारण बजेट ल्याउन ढिलो भएको गाउँपालिका अध्यक्ष विशेश्वर यादवले बताउनुभयो ।
१५ वटा स्थानीय तह रहेको महोत्तरीमा अन्य पालिकाले भने आ-आफ्नो गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गरेका छन् । सयम मै नीति तथा कार्यक्रम र बजेट ल्याउनेमा बर्दिवास, भंगहा, मठिहानी, जलेश्वर, बलवा, औरही, सम्सी, रामगोपालपुर, एकडारा, मनरा सिस्वा, पिपरा, महोत्तरी र लोहारपट्टी रहेका छन् ।
पालिकाहरु प्रस्तुत गरेका बजेटमा बर्दिवास नगरपालिका – १अरब ५ करोड १९ लाख, औरही नगरपालिका – ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँ,भंगहा नगरपालिका – ५९ करोड रुपैयाँ बजेट,रामगोपालपुर नगरपालिका – ४२ करोड ४ लाख २९ हजार ८०० रुपैयाँ,मनरा शिस्वा नगरपालिका – ५२ करोड ३९ लाख १३ हजार,जलेश्वर नगरपालिका – ७१ करोड ५३ लाख,मटिहानी नगरपालिका – ४० करोड ३९ लाख,बलबा नगरपालिका – ५४ करोड ९३ लाख ९७ हजार रुपैयाँ,लोहारपट्टी नगरपालिका – ५५ करोड ३५ लाख ७९ हजार ७०० सय,सम्सी गाउपलिका – ४९ करोड ८६ लाख ९० हजार,पिपरा गाउपलिका – ४६ करोड ७९ लाख ६५ हजार ३ सय ३० रुपैयाँ,एकडारा गाउपलिका – ५६ करोड ३६ लाख र महोत्तरी गाउपलिका – ४२ करोड ६४ हजार रहेको छ।




