जनकपुरधाम- धनुषाको विदेह नगरपालिका स्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा भएको आगलागीको विषयमा स्थानीयले आज बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेको बेला सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो । आठ सेल अश्रुग्यास प्रहार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
आगलागीबाट किरानाको समान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको छ ।
अहिले त्यहाँ उद्योग बाणिज्य संघ जनकपुरका पदाधिकारीको टोलि पुगेर छलफल गरिरहेको छ ।
डिएसपी बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमिकमजोरी रहेको स्वीकार गरेका छन्। उनले चौकीमा कार्यरत्त प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको उनले बताए ।
शनिबार राति साढे ११ बजे सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा आगलागी भएको हो ।
आगोबाट सम्पूणर् पसल नै जलेर नष्ट भएको छ । पसल भित्र रहेको किराना, कपडा लगायतको सरसमान जलेर १० लाख बढीको क्षति भएको संचालक मण्डलले बताए ।
त्यहाँबाट करिब ५० मिटरकै दुरीमा प्रहरीचोकी तिनकौरिया रहेको छ । प्रहरी बजारमा डिउटी नबस्दा कसैले पसलमा आगो लगाइदिएको हुन सक्ने स्थानीयको आरोप छ। सो पसल तिनकौरिया चोकमा २० वर्षदेखि संचालनमा रहेको थियो ।