महोत्तरी - मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा वस्तीमा आगलागीबाट पीडित बनेका परिवारहरुलाई नेपाल मुुस्लिम महिला कल्याण समाजले न्यानोसहितका कपडाहरु वितरण गरेका छन् ।मुस्लिम महिला कल्याण समाजले आगलागी वस्तीका गर्भवती, सुत्केरी, किशोरीहरु तथा वृद्धवृद्धाहरुलाई न्यानो कपडासहित विभिन्न सामग्री वितरण गरेको हो । समाजका महोत्तरी अध्यक्ष गुलिस्ता प्रविणले आगलागी वस्तीका महिला तथा किशोरीहरुलाई न्यानो कपडा तथा सेनेटरी प्याडको आवश्यकतालाई मध्यनजर गर्दै सो सामग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले नौ जना गर्भवती महिलालाई न्यानो कपडा, २० जना सुत्केरी तथा आठ जना वृद्धवृद्धाहरुलाई न्यानो सल तथा ५० जना किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको बताउनुभयो ।यही २०८१ वैशाखको दोश्रो साता अर्थात वैशाख १२ गते वुधबार लागेको आगलागीको कारण वस्तीको ९१ वटा कच्ची, ९ वटा अर्धपक्की गरी १०० वटा घर जलेको तथा ४६२ व्यक्ति प्रभावित भएको थियो । सो आगलागीमा करिब १५ करोडभन्दा बढीको क्षति भएको थियो ।

आगलागी वस्तीमा अधिकाँश मुस्लिम समुदायहरुको बाहुल्यता रहेको र चिसोमा उनीहरुको जनजीवनलाई ध्यानमा राख्दै न्यानो वितरण गरिएको जिल्ला अध्यक्ष गुलिस्ता प्रविणले बताउनुभयो ।मटिहानी नगरपालिका वडानं. ६ का वडाध्यक्ष कलिम अन्सारीको उपस्थितीमा आयोजित सरसामग्री वितरण समारोहमा आगलागी पिडितहरुले मुस्लिम महिला समाजले आफुहरुलाई चिसोको समयमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।
आगलागी पिडितहरुले गुठीको जग्गामा बसोबास गरिरहेको कारणले घर बनाईदिन सरकारले ध्यान नदिएको भन्दै मुस्लिम समाजलाई सो को लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।




