
महोत्तरी - महोत्तरी सदरमुकाम जलेश्वरस्थित एआरटी सेन्टरबाट हाल तीन सय ६० एचआइभी संक्रमितले नियमित औषधी सेवन गरि रहेको एआरटी सेन्टर जलेश्वरले जनाएको छ। विभिन्न कारणले एचआइभी संक्रमित भएकाहरु एआरटी सेन्टर जलेश्वरका नियमित औषधी सेवनकर्ता हुन् । औषधी सेवन गर्नेमध्ये एक सय २४ महिला,दुई सय ६ पुरुष र नौ अन्य छन्। १५ वर्ष मुनिका १२ बालिका र नौ बालक छन् । सोहिमध्ये १२ जना यौनकर्मी,६ जना सुईबाट लागुऔषध प्रयोगकर्ता,२६ जना पुरुष समलिंगी तथा अन्य,९२ आप्रवासी वा रोजगारीको लागि विदेश गएर फर्केकाहरु तथा दुई सय २४ जना यीनका आफन्त,घरपरिवार लगायतका अन्य रहेको सेन्टरले जनाएको छ ।
वि.सं. २०७२ मा संचालन भएदेखि दुई सय ६६ जना एआरटी सेन्टरमा जोडिएका सो मध्ये ५९ जना संक्रमित अर्को एआटी सेन्टर गएका,३९ कोभिडपछि सम्पर्कमा नआएका र ५३ को मृत्यु भएको सेन्टरका प्रमुख तथा परामर्शकर्ता राजिव पाठकले बताए। उनले औषधीको नियमित सेवनले एचआइभीको भाइरल लोड घट्ने भएकोले औषधी सेवन अनिवार्य भएको तथापी औषधि नियमित सेवन नगर्ने,बेवास्ता गर्ने वा छाड्ने वा अन्तिम अवस्थामा सेन्टर पुग्नेलाई समस्या हुने र मृत्यु समेत हुन सक्ने बताए । उनले नियमित औषधी सेवनकर्ताहरु पुर्ण स्वस्थ्य झै अझै बाचिरहेकोले संक्रमितलाई औषधीको सेवनमा लापरवाही नगर्न आग्रह गर्छन् ।
असुरक्षित यौन सम्बन्ध,लागुऔषध दुर्व्यसनीले एउटै सुई धेरैजनामा प्रयोग गर्ने,एउटाले प्रयोग गरेको ब्लेडले अर्कोको दाह्री काट्दा र अन्य विभिन्न कारणले एचआइभी लाग्ने भएकोमा यस्ता प्रति सचेत हुनु आवश्यक रहेको परामर्शकर्ता पाठक बताउछन् । उनले एआरटी सेन्टरमा सम्पर्कमा आएका संक्रमितहरुमध्ये भारत तथा अन्य देशबाट काम गरेर फर्केका व्यक्ति र पछि उनकी श्रीमती र सोबाट जन्मेका सन्तानका साथै,सेक्स वर्कर,सेक्स वर्करका क्लाइन्ट,यौनिक तथा लैगिंक अल्पसंख्यकलगायतका बढी संक्रमित रहेको बताए । यसका अलावा एमएसएम(मेल सेक्स विथ मेल) समेत एचआइभी संक्रमित रहेको बताए ।
हाल औषधी सेवन गरिरहेकामध्ये चालु आर्थिकमा सेन्टरमा थपिएका १८ जना छन । सोमध्ये ११ पुरुष, पाँच महिला र दुई अन्य छन् । -