
जनकपुरधाम । सिरहा नवराजपुरकी रिंकुकुमारी सदाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनामाथि ५ दिनको म्याद थप भएको छ ।
नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पक्राउ परेका ३ जनालाई अनुसन्धानको लागि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको हो ।
सिरहा प्रहरीले आइतबार यस घटनामा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेका थिए। तर, त्यसमध्ये एक जनाको संलग्नता नदेखिएपछि छाडिएको र स्थानीय चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि थप अनुसन्धानका लागि अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बलात्कार घटना सार्वजनिक भएपछि गाउँमा पञ्चायती गरेर आर्थिक लेनदेन गरी मिलापत्र गराउने काममा उनीहरूको पनि संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
तर, घटनाका मुख्य आरोपितहरू भने अझै फरार रहेको र पक्राउ पर्न सकेका छैनन् ।
घटना सार्वजनिक भएपछि प्रहरीले बलात्कारमा संलग्न तीन र पञ्चायती गरेर घटना गाउँमै मिलाउन खोज्ने पाँच गरी आठ जनाविरुद्ध पीडित परिवारबाट गत बिहीबार कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको पूरक जाहेरी लिएको थियो ।