सुजाता राई
विराटनगर । साहित्यिक गतिविधिको विस्तार तथा नयाँ पुस्तालाई साहित्यसँग जोड्ने उद्देश्यसहित काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन गरिएको छ। शनिबार विराटनगरस्थित एलिट क्लबको सभाहलमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले संस्थाको उद्घाटन गर्नुभयो।



काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले गमलामा रोपिएको समीको बिरुवामा पानी हालेर तथा पर्दा तानेर संस्थाको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेदी, प्रा. खेम नेपाली, झोराहाट नाट्य समूहका प्रमुख भरत गुरागाईं तथा अन्तर्राष्ट्रिय कवि सुमन पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी प्रा. डा. मेदिनीप्रसाद शर्मा, प्रा. डा. हरिहर भण्डारी, मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश सुवेदी, सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, साहित्यकार सीमा आभास, सप्तरङ्गी साहित्य मञ्चका अध्यक्ष रमेन्द्र कोइरालालगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, साहित्यकार, स्रष्टा र साहित्यप्रेमीको सहभागिता थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषि तिवारीले स्वागत मन्तव्य दिनुभएको थियो। सो अवसरमा संस्थाका पदाधिकारी तथा १६ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमुख तथा विशिष्ट अतिथिलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
डा. देवी पन्थी, मधु पोखरेल, गङ्गा सुवेदी, लिलानाथ सिलवाल, रमेन्द्र कोइराला, डोमी कामत, मञ्जु घिमिरे दाहाल, पुण्यप्रसाद चौलागाईं तथा प्रा. खेम नेपालीलगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
साहित्यसँगै वातावरण संरक्षणको सन्देश
काव्य उद्यान नेपालको उद्घाटन समारोहलाई साहित्यिक गतिविधिसँगै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देशसँग पनि जोडिएको थियो। कार्यक्रममा हरित विराटनगर अभियानका अभियन्ता तथा अध्यक्ष पारुल क्षेत्रीलाई गमलासहितको समीको बिरुवा हस्तान्तरण गरिएको थियो।
साहित्यिक गतिविधिमार्फत वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश प्रवाह गर्ने तथा स्वच्छ र हरित वातावरण निर्माणप्रति सामाजिक प्रतिबद्धता अभिव्यक्त गर्ने उद्देश्यले बिरुवा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
नयाँ पुस्तालाई साहित्यसँग जोड्ने योजना
काव्य उद्यान नेपालले साहित्यका विभिन्न विधाको विकास र प्रवर्द्धनसँगै स्रष्टाबीच संस्थागत सहकार्य, एकता र सद्भाव कायम गर्ने उद्देश्य लिएको अध्यक्ष अधिकारीले बताउनुभयो।
संस्थाले हरेक महिना साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रममा प्रस्तुत रचनालाई आवश्यक सम्पादनसहित दस्तावेजीकरण गरी पुस्तकका रूपमा प्रकाशन गर्ने तथा साहित्यका विभिन्न विधाका सैद्धान्तिक पक्षबारे विज्ञमार्फत जानकारी गराउने योजना बनाएको छ।
विद्यालय तथा कलेजसँग समन्वय गरी ‘विद्यार्थीसँग साहित्य’, सडक कविता लगायतका कार्यक्रम सञ्चालन गर्ने संस्थाको योजना छ। नयाँ पुस्तामा सिर्जनात्मक तथा सैद्धान्तिक चेतनाको विकास गर्ने, ओझेलमा परेका प्रतिभा तथा स्रष्टालाई साहित्यको मूलधारमा ल्याउने र साहित्यप्रति युवाको आकर्षण बढाउने उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताउनुभयो।
त्यसैगरी विभिन्न भाषाको विकास र प्रवर्द्धनका लागि बहुभाषिक साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, साहित्यिक गोष्ठी, सभा, सम्मेलन, प्रतियोगिता तथा सम्मान कार्यक्रम आयोजना गर्ने, पुस्तक तथा साहित्यिक पत्रिका प्रकाशन गर्ने र साहित्यिक अनुसन्धानलाई अघि बढाउने लक्ष्य संस्थाले लिएको छ।
साहित्यका माध्यमबाट समाजमा सकारात्मक चेतना र सन्देश प्रवाह गर्दै समृद्ध, सभ्य तथा सिर्जनशील समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित संस्था अघि बढेको अध्यक्ष अधिकारीले बताउनुभयो।
१६ आजीवन सदस्य
संस्थाले १६ जनालाई आजीवन सदस्य बनाएको छ। आजीवन सदस्यमा सृजना प्रसाईं ढुङ्गाना, शान्ता कर्ण, विक्रम विबंश याक्खा, म्यामराज राई, प्रेमप्रसाद रिजाल, अमित साङपाङ राई, दिनेश क्षेत्री, पुरुषोत्तम धमला, डा. प्राची भगत, जयन्त प्रधानाङ्ग, सुनिल पाण्डे, आर्या रिजाल, प्रकाश पोखरेल, कृष्णप्रसाद दवु, कान्ता रिजाल र पूर्णिमा भुर्तेल रहनुभएको छ।
संस्थाको अध्यक्षमा भूपाल अधिकारी, उपाध्यक्षमा ऋषि तिवारी, सचिवमा केशव रिजाल, कोषाध्यक्षमा अन्सु गुप्ता र सहसचिवमा सुशीला प्रसाईं दङ्गाल रहनुभएको छ।
त्यसैगरी सदस्यमा शरद प्रधानाङ्ग, पुण्यप्रसाद चौलागाईं, तारा श्रेष्ठ, रेणुका राई, यमुना भट्टराई र किरण रिजाल तथा सल्लाहकारमा भवानीप्रसाद पोखरेल, लिलानाथ सिलवाल, रमेन्द्र कोइराला, कुमार श्रेष्ठ र सुरेश अग्रवाल रहनुभएको छ।
कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार तथा साहित्यप्रेमीसहित एक सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव सुशीला प्रसाईं दङ्गालले गर्नुभएको थियो।






