गणेश सुवेदी
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवासको साझा सवाल र विकासको बारेमा पत्रकारहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
बर्दिवास नगरपालिकाको सहयोगमा बर्दिवास नगर पत्रकार सञ्जालको आयोजना तथा नेपाल प्रेस इन्स्टिच्युटको सहजिकरणमा बुधवार देखि बर्दिवासमा सुरु भएको डिजिटल पत्रकारिता तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले बर्दिवास नगरपालिकाभित्र खानेपानी, शिक्षा, स्वास्थ्य, सडक बिपद ब्यवस्थापन लगायतका थुप्रै सवाल छन्, तिनीहरूको उजागर गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले नगरपालिकाको सहयोगमा संचालित यस डिजिटल मिडिया पत्रकारिता तालिमले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आधुनिक प्रविधिमैत्री भएर काम गर्न पेशागत दक्षतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नगर प्रमुख क्षेत्रीले भने, 'क्रियाशील पत्रकारलाई डिजिटल प्रविधिबारे नयाँ विषयवस्तुको बारेमा जानकारी दिनको लागी प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी लाग्नुु पर्ने भएको हुँदा यस तालिमको महत्व छुट्टै रहेको छ।'
डिजिटल पत्रकारिता तालिम बर्दिबासमा क्रियाशील पत्रकारहरुको लागि एउटा सुनौलो अवसर भएको बताउँदै प्रमुख क्षेत्रीले नगर पत्रकार सन्जालले बर्दिबास केन्द्रित पत्रकारहरुलाइ एउटै छानो मुनि बस्ने गरी जोड्न सकोस् भन्ने कामना समेत गरे । उनले भने, " पत्रकारहरुको क्षमता अभिवृद्धिमा नगरले थप सहयोग गर्न तयार छ ।"
उनले नगरपालिकाको आफ्नो कार्यकालको एक हजार दिन पुरा भएको अवसरमा अहिले सम्म गरिएको कामको प्रगती विवरण चाडै नै सार्वजनिक गर्ने बताउँदै उनले भने, ' निर्वाचित भएर आए देखि अहिले सम्म गरेको हरेक क्षेत्रको काम बारे समिक्षाको लागि पत्रकारहरु संग अन्तरक्रिया गर्ने तयारी गरेको छु ।' उनले आफू कार्य सम्पादन गर्ने क्रममा भएका गल्ती र सुधार गर्नु पर्ने पक्ष बारे पत्रकारहरुले सहि निश्चपक्ष ढंगले औलाइ दिन आग्रह गर्दै उनले नगर भएका काम बारे आम नागरीकले जान्ने गरी कलम चलाउन संचारकर्मीलाई आग्रह गरे।
“नगरमा भएका हरेक जातजाति, हरेक सभ्यता, पुरातात्विक महत्वको वस्तु, प्राकृतिक सम्पदालाई जगेर्ना गर्दै वातावरणमैत्रि विकास मात्र आफ्नो चाहना भएको हुँदा सो अनुसार काम भए नभएको औल्याउन सवै पत्रकारलाई अनुरोध गर्छु” उनले भने ।
कार्यक्रममा बर्दिबास नगर पत्रकार सन्जालका सस्थापक सचिव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार राजकरण महतोले नगर प्रमुख समक्ष नगर पत्रकार सन्जाललाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिनु हुन आग्रह गरे ।
सन्जालका अध्यक्ष गोपाल बरालले अहिलेका नया पुस्ताका पत्रकारले तालिमवाट अझ तिखारिएर जाने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा प्रेस स्वतन्त्रा सेनानी ईश्वरि काफ्लेले आफुले पत्रकारिता क्षेत्रमा भोगेका दुख सुखका कहरहरु तालिममा सहभागी पत्रकारहरुलाइ सुनाएका थिए ।
तालिमको उद्घाटन सत्रमा अतिथि तथा सहभागीहरुलाई संजालकी कोषाध्यक्ष सुनिता बरालले स्वागत गर्दै ५ दिन तालिममा सक्रियता पुर्वक सहभागी हुन आग्रह गरिन्।
संजालका सचिव विशाल बस्नेतले संचालन गरेको तालिमको उदघाटन समारोहमा पत्रकारिता क्षेत्रमा डिजिटल मिडियाको बढ्दो माग तथा यस्को प्रभावलाई ध्यानमा राखी तालिम आयोजना गरिएको तालिम संयोजक अजय साहले बताए।
यस तालिम फागुन १८ गतेसम्म सञ्चालन हुँने र तालिममा डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने जानकारी तालिम संयोजक साहले गराए ।




