महोत्तरी – महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज ठप्प भएको भन्दै नगरपालिकाले वडा र पालिकामा तालाबन्दी गरेको छ । नगरपालिकाका प्रमुख संजिवकुमार साहले आफूलगायत सबै वडा कार्यालय बन्द गरेर साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
नगरप्रमुख साहले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि नगरपालिकाका सम्पूर्ण प्रशासनिक कामकाज प्रभावित भएको भन्दै कार्यालयमा ताला लगाएका हुन् । त्यस्तै लामो समयदेखि प्रमुख प्रशासकीय अघिकृत नहुँदा कयौँ योजनाहरु अलपत्र परेको उनी बताउँछन् । करिब डेढ महिनादेखि नगरपालिका प्रशासकीय अधिकृतविहिन हुँदा मेला महोत्सव, उपचार छूट सिफारिस, टेण्डर प्रक्रिया, विकास निर्माणका कार्यहरु प्रभावित भएका छन्,’, नगरप्रमुख शाहले भने, ‘यस विषयमा मन्त्रालयलाई जानकारी गराएपनि अधिकृत पठाएको छैन । सम्पूर्ण कामकाज रोकिएपछि कार्यालय खोलेर के काम ?’



सेवाग्राहीलाई सहज प्रशासनिक सेवा प्रवाह नहुँदा जनगुनासो बढेको भन्दै आफूहरुले बाध्य भएर प्रमुख जिल्ला अधिकारीलाई पालिकाको आधिकारिक साँचो बुझाएको नगरप्रमुखले जानकारी दिएका छन । उनले आफूले तीन पटकसम्म मन्त्री र सचिवलाई भेटेरै उपसचिव पठाईदिन अनुरोध गरेपनि उनीहरुले आफूहरुको मागलाई अन्देखा गरेको गुनासो गरे ।
त्यस्तै उनले पालिकामा वरिष्ठताको आधारमा निमित्त अधिकृत तोकेको ४ दिनमै उपसचिवलाई हाजिर गराउने भनिएपनि १५ दिन बित्दासमेत अधिकृत सम्पर्कमा नआएको बताए । संघीय सरकारले नै स्थानीय सरकार सञ्चालन गर्न सहयोग नगरेपछि नेपाल सरकारको प्रतिनिधत्व गरिरहेका प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाएको नगरप्रमुख शाह बताउँछन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृततको टुङ्गो नलागेसम्म नगरपालिकाको सबै कामकाज बन्द गर्ने नगरप्रमुख संजिवकुमार साहले बताए ।
यस विषयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आफूले सो विषय गृह मन्त्रालय र संघिय मामिला मन्त्रालयमा जानकारी गराइसकेको बताए ।





