आकृति न्यौपाने
काठमाडौं। कलेज देखि मन्त्रालयसम्म,चौक देखि हाटबजार सम्म बलात्कार का घटनाहरू बारे सुन्ने गरेका हुन्छौं । सञ्चार माध्यममा जताततै बलात्कारका समाचार आइरहेका छन् । लाग्छ, समाजका प्रत्येक व्यक्ति अब यो अपराधबाट बेखबर छैन । तर, दुःखद पक्ष के छ भने यति धेरै घटना भइररहँदा पनि हामी रोग पहिचान गरेर उपचार खोज्नतिर लागेका छैनौं ।



मानव सभ्यता, नैतिकता र समानताको कुरा गर्ने हाम्रो समाजमा आज पनि एउटा यस्तो घाउ छ, जसले बारम्बार हामीलाई लज्जित बनाइरहेको छ । जहाँ अपरिचित व्यक्तिभन्दा पनि आफ्नै र नजिकिएका व्यक्तिहरुबाट बलत्कृत हुने अवस्था छ ।
यो केवल कानुनी अपराध मात्र होइन, मानवीयता र सभ्यताको विरुद्ध गरिएको जघन्य अपराध हो। आज नेपालमा बारम्बार सुनिने बलात्कारका घटनाले हामीलाई झस्काइरहेका छन्। कहिले सानी बालिका, कहिले किशोरी, कहिले वृद्ध महिलासमेत यौन हिंसाको सिकार भएका समाचारहरू सार्वजनिक भइरहेका छन्। अझ दुःखद कुरा के छ भने धेरैजसो घटनामा पीडक अपरिचित हुँदैन। ऊ आफन्त हुन्छ, छिमेकी हुन्छ, शिक्षक हुन्छ, साथी हुन्छ, कहिलेकाहीँ आफ्नै प्रेमी पनि हुन्छ।
विश्वमा बलात्कारको अवस्था
विश्व स्वास्थ्य संगठनका तथ्यांकहरू अनुसार विश्वभर करिब तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको यौन हिंसा भोगेका हुन्छन्। धेरै घटनाहरू भने सार्वजनिक नै हुँदैनन्। डर, सामाजिक कलंक, न्याय नपाइने डर र परिवारको दबाबका कारण पीडितहरू मौन बस्न बाध्य हुन्छन्।
कतिपय देशहरूले यस अपराधविरुद्ध कडा कानुनी व्यवस्था गरेका छन्। केही देशहरूमा आजीवन कारावास, कडा दण्ड सजाय, रासायनिक बन्ध्याकरण जस्ता उपायहरू पनि अपनाइएका छन्। यसले समाजलाई स्पष्ट सन्देश दिन्छ कि महिलाको अस्मितामाथि हात हाल्ने जो कोहीलाई कडा परिणाम भोग्नुपर्छ।
नेपालमा बढ्दो चिन्ता
नेपालमा पछिल्ला वर्षहरूमा बलात्कारका घटनाहरू चिन्ताजनक रूपमा बढिरहेका छन्। प्रहरीमा दर्ता हुने घटनाहरू मात्र हेर्दा पनि हरेक वर्ष सयौँ बलात्कार तथा बलात्कार प्रयासका मुद्दा देखिन्छन्। तर यथार्थ अझ गम्भीर हुन सक्छ, किनकि धेरै घटनाहरू सार्वजनिक नै हुँदैनन्।
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार बलात्कार गम्भीर अपराध हो। पीडितको उमेर र अपराधको प्रकृति अनुसार १० वर्षदेखि २५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ। बालिका बलात्कार, सामूहिक बलात्कार वा अत्यन्त क्रूर प्रकृतिका घटनामा अझ कडा सजायसमेत हुन सक्छ। तर कानुन हुनु मात्र पर्याप्त छैन। कानुनको प्रभावकारी कार्यान्वयन, छिटो न्याय प्रक्रिया, पीडितलाई मनोसामाजिक सहयोग र समाजको संवेदनशीलता अत्यन्त आवश्यक हुन्छ।
आज धेरै छोरीहरू अपरिचितभन्दा आफ्नै चिनजानका मानिसबाट असुरक्षित भइरहेका छन्। विश्वास गरेको साथी, आफन्त, सहकर्मी वा प्रेमीबाटै बलात्कारका घटना हुने गरेका छन्। कहिलेकाहीँ प्रेमको नाममा भावनासँग खेलिन्छ। विश्वास दिलाइन्छ, भविष्यका सपना देखाइन्छ। तर जब जिम्मेवारी लिनुपर्ने समय आउँछ, त्यही सम्बन्ध हिंसा र अपराधमा परिणत हुन्छ।
बलात्कार रोक्न केवल कानुन मात्र पर्याप्त हुँदैन। यसको लागि सामाजिक चेतना, शिक्षादेखि नीति निर्माणसम्म बहुआयामिक प्रयास आवश्यक छ। त्यसका साथै कडा र स्पष्ट कानुनी व्यवस्था पनि आवश्यक छ ।
आज प्रश्न केवल कानुनको होइन, हाम्रो चेतनाको पनि हो।
जबसम्म छोरीहरू आफ्नै घर, विद्यालय, सडक र सम्बन्धभित्र सुरक्षित महसुस गर्न सक्दैनन्, तबसम्म हाम्रो समाज सभ्य
भएको दाबी अधुरो नै रहन्छ। छोरीको अस्मितामाथि खेल्नेहरूलाई समाजले स्पष्ट सन्देश दिनुपर्छ।
बलात्कार केवल कानुनी अपराध होइन, यो हाम्रो समाजको चेतना, नैतिकता र जिम्मेवारीसँग जोडिएको गम्भीर समस्या हो। नेपालमा बढिरहेका यस्ता घटनाहरूले देखाउँछन् कि कानुन मात्र पर्याप्त छैन । समाजको सोच, व्यवहार र प्रणालीमा परिवर्तन आवश्यक छ। जबसम्म पीडितले निर्भय भएर न्याय पाउने वातावरण बन्दैन र समाजले अपराधीलाई सहनशीलता देखाउनु बन्द गर्दैन, तबसम्म यस्ता अपराधहरू रोकिन सक्दैनन्। त्यसैले, बलात्कार नियन्त्रणका लागि कानुनी कडाइसँगै सामाजिक रूपान्तरण अनिवार्य छ।
-लियो आकृति न्यौपाने, लियो जिल्ला परिषद ३२५ एफ नेपालका जिल्ला अध्यक्ष हुन् ।




