
जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समितिको समिक्षा बैठक शनिबार जनकपुरधामस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकमा प्रदेशका सम्पूर्ण संगठनका अध्यक्ष तथा अभियानीहरूले संगठन निर्माण तथा विस्तारबारे प्रदेश नेतृत्वलाई रिपोर्टिङ्ग गरेका छन्।
बैठक प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षता तथा मधेस प्रदेश इन्चार्ज पूर्वमन्त्री हरिनारायण यादवको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय समितिका जनकपुरधाममा उपलब्ध पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, र विभिन्न जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा समाजवादी युवा संघ, समाजवादी विद्यार्थी युनियन, समाजवादी महिला संघ, समाजवादी मुस्लिम संघ, समाजवादी दलित मुक्ति संगठन, समाजवादी किसान महासंघ, समाजवादी ट्रेड युनियन महासंघ, मधेस स्वास्थ्यकर्मी फोरम, प्रेस मञ्च नेपाल लगायतका संगठनका अध्यक्षहरूले संगठन विस्तारको प्रगतिबारे रिपोर्टिङ्ग गरे।

प्रदेशका आठ वटै जिल्लाका अध्यक्षहरूले वडा तथा पालिकास्तरमा भएका अधिवेशन तथा संगठन निर्माणका विवरण प्रस्तुत गर्दै बाँकी रहेका स्थानहरूमा चाँडै अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
बैठकमा बोल्दै प्रदेश इन्चार्ज हरिनारायण यादवले संगठन सुदृढीकरणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सम्पूर्ण सदस्यहरूलाई सक्रिय भएर लाग्न आह्वान गरे। प्रदेश अध्यक्ष बालकिशोर यादवले संगठन विस्तारको वर्तमान अवस्थालाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए।
बैठकले संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गर्दै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको ठोस कार्ययोजना अघि सारेको छ।