
जनकपुरधाम - सीके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रीय उपाध्यक्ष ई. दिपक साहले पार्टी फोड्न भूमिका खेलेको भए हरेक कारबाही भोग्न तयार रहेको बताएका छन् ।
जनमतको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिबासमा हिजोदेखि जारी छ । उपाध्यक्ष साह बैठक बहिस्कार गरेका छन् । आज विहान फेसबुकमा स्टाटस लेख्दै उनले बैठकमा सहभागीहरुलाई प्रश्न गरेका छन्- तपाईंहरू आफ्ना सन्तान वा आमा-बुवालाई साक्षी मानेर खुलेर भन्नुहोस्, मैले तपाईंलाई कहिल्यै फोन गरेर जनमत पार्टी फोड्न भनेको छु ?
उनले आफूमाथि लगाएको आरोपबारे छलफल गर्न आग्रह गर्दै कसैलाई फोन गरेको भए हरेक कार्वाही भोग्न तयार रहेको बताएका छन् ।
बैठक अगाबै जनमतको अनुशासन समितिले राष्ट्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई विभिन्न आरोप लगाउँदै स्पष्टीकरण सोध्नुका साथै निलम्बन गरिएको छ । यसअघि नै उपाध्यक्ष साहलाई पनि स्पष्टीकरण सोधिएको थियो ।
निलम्बित कोषाध्यक्ष यादवले पार्टी अध्यक्ष सीके राउतले नै आर्थिक हिनामिना गरेको दावी गरेका छन् । हर हिसाब मागेपछि आफूलाई कारबाही गरेको उनको दावी छ ।