
धनुषा । यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।
होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन आज मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरेको हो ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुको प्रसंसा गर्दै उहाँलाई ठट्टा स्वरुप महामूर्खको उपाधि प्रदान गरिएको हो ।
उनलाई प्रशस्ती पत्र, तरुल तथा अन्य तरकारीको माला तथा टाउकोमा विशिष्ट प्रकारको टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।
सम्मेलनमा मैथिलीका प्रसिद्ध साहित्यकार सियाराम झा सरसलाई पटमुर्ख, जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहलाई हराशंख, रामरिझन यादवलाई लोढाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्रलाई बालबोध, वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, चिकित्सक रामविनय चौधरीलाई खबसुरता, मिथिला चित्रकार सीतादेवी कर्णलाई गनपसारैन, भेटनरीको चिकित्सक डा. पिंकी मण्डललाई मनतोरिया, नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रलाई पवित्र पापी, कृष्ण चौधरीलाई सोटाचन्द, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारी लाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्तालाई डपौरशंख र सम्वाद फाउण्डेसनका अध्यक्ष कुमार भाष्करलाई तरघुसनाको उपाधी प्रदान गरिएको छ ।
होलीका अवसरमा मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको छ । होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम २०६१ सालदेखि आयोजना भइरहेको छ ।

विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा [एमाले]ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगन गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ मा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झा, २०७९ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो भने २०८० को महामूर्खको उपाधि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो ।