बर्दिवास- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लागुपदार्थ दुर्व्यसन विरुद्धको अभियानलाई घरघरसम्म जोड्न पर्ने बताउनु भएको छ । सामुहिक अभियानले मात्र यो अभियानले सार्थकता पाउने उनको भनाइ छ ।
नेपाल प्रहरी मधेश प्रदेश कार्यालय जनकपुरधामले आइतबार महोत्तरीको बर्दिबासबाट सुरु गरेको लागुपदार्थ दुर्व्यसन विरुद्धको ‘नव प्रवर्तणीय कार्य’ अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री यादवले सो कुरा बताएका छन् ।



मुख्यमन्त्री यादवले भने, “लागुपदार्थ दुर्व्यसनले समाज कुञ्जो र भयावह बनाउँदैछ, अब यस विरुद्ध प्रहरी वा राज्यमात्र नभई घरघर परिचालित हुनपर्छ, नेपाल प्रहरीले यस विरुद्ध बनाउने योजना र काममा प्रदेश सरकार तत्काल सहयोगी बन्न तयार छ ।”
खासगरी उमेरको हिसाबले सिर्जनशील काममा लाग्ने किशोर र युवा नै यो कूलतमा फस्दै गएपछि मधेशको अवस्था अत्यन्त डरलाग्दो बन्दै गएको मुख्यमन्त्री यादवले चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री यादवले लागुपदार्थ कारोबारलाई निस्तेज गर्न नेपाल प्रहरीलाई आवश्यक पर्ने यान्त्रिक उपकरण र अन्य साधन माग अनुसार उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए । उनले भने, “तपाईहरु ठोस प्रस्ताव सहित आउनुहोस्, मधेश सरकार बिना आलटाल तत्काल नै सहयोग थाल्नेछ।”
कार्यक्रममा नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक जनक भट्टराई यसपालि अहिले सुरु गरिएको अभियानमा मधेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयले मातहत कार्यालयलाई परिचालित गरी लागुपदार्थ दुर्व्यसन विरुद्धको अभियान सञ्चालन गरिने जानकारी दिए ।
यसक्रममा दुर्व्यसनको लत लागेका र त्यस्ताको सम्पर्कमा पुग्दै गरेका व्यक्तिको पहिचान गर्ने, उनीहरुलाई कूलत त्याग्न उत्प्रेरित गर्ने, नियन्त्रणका उपाय अवलम्बन गर्ने, अभिलेखिकरण गर्ने , मनोविज्ञहरुबाट मनोपरामर्श गराउने र अभिभावकसँग आवश्यकता अनुसार संयुक्त अन्तरक्रिया गर्ने र कानुनी कारवाही सम्मका काम गरिने प्रहरी नायब महानिरीक्षक भट्टराईको भनाइ छ।
कार्यक्रममा नेपाल प्रहरी मधेश प्रदेश कार्यालयले मधेशका आठ जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्ला चार महिनाभित्रै -गत साउनदेखि गत कात्तिक मसान्तसम्म) लागुपदार्थ दुर्व्यसन र कारोबार सम्बन्धी २६३ वटा मुद्दा दर्ता भइसकेका जानकारी दिए ।
यस्ता मुद्दा गत आर्थिक वर्ष २०७९/०८० मा ९३७ र त्यसअघि आर्थिक वर्ष २०७८/०७९ मा ९२२ दर्ता भएका नेपाल प्रहरी मधेश प्रदेश कार्यालयको अभिलेखमा उल्लेख छ ।
यस अभियान अन्तर्गत प्रारम्भिक चरणमा पहिचान गरिएका लागुपदार्थ दुर्व्यसनको लतमा फसेकाहरुलाई सहभागी गराई सचेतना गराउने, मनोपरामर्श गराउने र कूलतको सम्पर्कमा पुगेकाहरुलाई सिर्जनशील काममा लाग्न उत्प्रेरित गराउने कार्यक्रम रहेका जनाइएको छ ।
अभियानको थालनी गरिएको महोत्तरीमा यसरी पहिचान गरिएका ४९५ जनालाई आजैदेखि मनोविज्ञबाट परामर्श दिन थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले कार्यक्रममा जानकारी दिए ।
मधेशमा दुर्व्यसनको कूलतमा फसेकालाई पुर्नस्थापना केन्द्रमा राखेर सम्भार गरिन यस्ता केन्द्रको अभाव रहेको प्रहरी अधिकारीले कार्यक्रममा औंल्याएका थिए ।
त्यस अवसरमा मुख्यमन्त्री यादवले यसै चालु आव मै महोत्तरीको गौशाला-८ बेलगाछीमा आधुनिक पुर्नस्थापना केन्द्र निर्माण भइसक्ने र बाराको निजगढ वरपर अर्को केन्द्र निर्माणको काम थालिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भारतीय नाकाबाट भित्रिने लागुऔषध यथासक्य सीमा नाकामै रोक्ने र पुर्नस्थापना र कारोबारीको पहिचान गरेर आवश्यक प्रकृया अघि बढाइने नेपाल प्रहरी मधेश प्रदेश कार्यालयले जनाएको छ ।
अभियानको पहिलो चरणमा आठवटै जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान शाखाका प्रमुख सहभागी भएका कार्यक्रममले थप रणनीति बनाएर अघि बढाइने नेपाल प्रहरीको तयारी छ ।




