जनकपुरधाम।हिन्दु र मुस्लिम समुदाय बिच ७ बुँदे सहमती पछि जनकपुरधाममा लगाइएको निषेधाज्ञा हटाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा भएको विवाद समाधानको लागि आज सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामा दुबै पक्ष बीच ७ बुँदे सहमति भएको हो ।
स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत छलफल पश्चात ७ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए ।
कार्तिक २४ गते छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । सो विषयलाई लिएर पुनः शनिवार पनि झडप हुँदा स्थानीय प्रशासनले सम्भावित अप्रिय घटना हुन नदिने भनि निषेधाज्ञा जारी गरेको थियो ।
तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उपमहानगरपालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्ने, हिन्दुको छठ र मुश्लिमको दाहा जस्ता पर्वमा सुरक्षा निकायलाई पूर्व जानकारी दिई पोखरीमा थप माटो नझारी मनाउने, दुबै पक्षले कुनै माध्यमबाट धार्मिक, साम्प्रदायिक सदभाव विगार्ने गरी भनाई वा विचार कतै नराख्ने लगायतका सहमति भएको छ ।
उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र ४ जना मुस्लिम प्रतिनिधि रहने गरी सहमती कार्यान्वयनका लागि समिती समेत गठन गरिएको प्रजिअ वास्तोलाले बताए ।