
महोत्तरी - डिभिजन वन कार्यालय महोत्तरीले सामुदायिक वनमा वन डढेलो रोकथामका लागि गस्ती बढाएको छ । विभिन्न कारणले जिल्लाका वनहरु मा डढेलो लागेर वन बिनास हुने गरेको र यसले प्रयावरण मा समेत प्रभाव पारीरहेको भन्दै वन जोगाउन गस्ती बढाइएको डिबिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले बताउनुभयो ।
डिभिजन वन कार्यालय का प्रमुख मिश्रका अनुसार वन डढेलो लागेमा कसरी नियन्त्रण गर्ने भन्नेबारे जानकारी दिने उद्देश्यले सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर वन डढेलो नियन्त्रणको अभ्यास र सचेतना कार्यक्रम आयोजना समेत गरिएको हो । वन प्रमुख मिश्रले वन डढेलो नियन्त्रण सबैको साझा चुनौती भएकाले यसलाई रोकथाम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले वन डढेलो देखिएमा तत्काल नियन्त्रणका लागि जुट्न,वन कार्यालय तथा प्रहरीलाई खबर गर्न र जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्न आग्रह गरे ।
कार्यालय मात्र सक्षम नभएकाले उपभोक्ता समूह, सामुदायिक वन महासङ्घ र स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए । वन डढेलोका कारण चराचुरुङ्गी, वन्यजन्तु तथा रुखबिरुवा नष्ट हुने भएकाले जानीजानी डढेलो लगाउनु गम्भीर अपराध मानिने र फौजदारी कसुरअन्तर्गत कानूनी कारबाही हुने उहाँले चेतावनी दिइएको छ । गर्मी मौसममा आगलागीको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउनुपर्ने कार्यालयले अनुरोध गरेको छ ।
वन डढेलो नियन्त्रण गर्न फारलाइन सफा गर्ने,पातपतिङ्गर जम्मा गरेर जलाउने,मानिसको नियन्त्रणमा राखेर अनावश्यक वस्तु जलाउने उपायहरू अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ ।