
हरिवन, सर्लाही – सहयोगी समाज नेपालले युरोपियन युनियनको आर्थिक सहयोग तथा हेल्भेटास नेपाल र हरिवन नगरपालिकाको सहकार्यमा सञ्चालन गरेको स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्द्धन (प्रोयेल) परियोजनाको समीक्षा बैठक आज हरिवन नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। तीन वर्षअघि मधेस प्रदेशका तीन वटा नगरपालिकामा प्रारम्भ भएको यो परियोजनामध्ये हरिवन नगरपालिका पनि एक हो।

बैठकको अध्यक्षता हरिवन नगरपालिकाका उपप्रमुख हरिमाया घलानले गर्नुभएको थियो भने विशेष अतिथिका रूपमा युरोपियन युनियनका प्रतिनिधि रोजल्बा टोस्के, हेल्भेटास नेपालका आज्ञा पोखरेल र श्रेद्धा श्रेष्ठको उपस्थिति रहेको थियो। समीक्षा बैठकमा हरिवन नगरपालिकाका ११ वटै वडाका अध्यक्ष तथा वडा सदस्यहरू, सहयोगी समाज नेपालका अध्यक्ष हरि थापा, तथा परियोजना अन्तर्गत सञ्चालनमा आएको हरिवन युवा सञ्जालका सदस्यहरू सहभागी थिए। बैठकमा विगत तीन वर्षको अवधिमा सुशासन तथा युवा सहभागिता प्रवर्द्धनका क्षेत्रमा भएका परिवर्तनहरूबारे गहन छलफल गरिएको थियो। युरोपियन युनियनका प्रतिनिधिले परियोजना समाप्तिपछि स्थानीय युवाहरूले कसरी निरन्तर काम गर्ने भन्ने प्रश्न उठाएका थिए।

यस सन्दर्भमा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयालले जवाफ दिँदै भने, "यो परियोजना सकिएपछि पनि हामीले युवा नीतिलाई अगाडि बढाउनेछौं। हरिवन नगरपालिकाले युवा नीति पारित गरिसकेको छ, अब यसको कार्यान्वयनमा केन्द्रित हुनेछ।" कार्यक्रमको क्रममा उपप्रमुख हरिमाया घलानले भनिन्, "युवाहरू सुशासनका अभ्यासकर्ताका रूपमा अगाडि आइरहेको देख्दा हामीलाई गर्व लाग्छ।

" त्यसैगरी, सहयोगी समाज नेपालका अध्यक्ष हरि थापाले भने, "यो परियोजना सकिएपछि पनि हामी युवाहरूको साथमा रहनेछौं। यहाँका युवाहरूसँग काम गर्दा हामीलाई निकै राम्रो अनुभव प्राप्त भएको छ।" परियोजना संयोजक निरमा चौधरीले हरिवनका युवाहरूको सक्रियता र उत्साहको प्रशंसा गर्दै भनिन्, "यहाँका युवाहरूको उर्जा, लगनशीलता, र सुशासनप्रतिको प्रतिबद्धता प्रेरणादायी छ।" यो बैठकले परियोजनाबाट सिकाइएका अभ्यासहरूलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै स्थानीय तहमा युवा सहभागिता अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।



