
महोत्तरी - गुठी संस्थानले लक्ष्मी नारायण मठ मटिहानी स्थानको उत्तराधिकारी महन्त पदमा डा. रविन्द्र दास बैष्णवलाई नियुक्त गरेको छ । गुठी संस्थानको समितिको बैठक निर्णयअनुसार डा. दासलाई मठिहानी स्थानको महन्तको रूपमा नियुक्त गरिएको छ । गुठी संस्थानले फागुन २८ गते जारी गरेको पत्रका अनुसार मठिहानी स्थानको उत्तराधिकारी नियुक्तिका लागि परेको निवेदनको आधारमा समितिको बैठक नं ४ सयको निर्णयअनुसार डा. दासलाई निर्देशिका २०७७ को दफा १० बमोजिम महन्तको पदमा नियुक्ति प्रदान गरिएको छ ।
नव नियुक्त रवीन्द्र दासलाई बधाई दिन जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सीता कुण्डको रामनरेश दास सहित सन्तसमाजका व्यक्तिहरुको उपस्थिती रहेको थियो । लक्ष्मी नारायण मठ मटिहानीलाई नेपालका मठहरूको सर्वोच्च मानिन्छ । झण्डै चार सय वर्ष पुरानो मानिएको उक्त मठ करिब १० विग्हा क्षेत्रफलमा रहेको छ । सो मठको मध्यमा भगवान् लक्ष्मीनारायणको भव्य मन्दिर रहेको छ भने मन्दिरको वरिपरि भव्य महल प्रतीत हुने राजदरवारको ढाँचामा कलात्मक शैलीको ५० वटा ठुल ठुलो भवन रहेको छ ।
मठ परिसरको सानिन्धयमै दक्षिणतर्फ एउटा विशाल र गहिरो लक्ष्मीसागर रहेको छ । यस सागरको सम्बन्धमा मिथिला महात्मामय उल्लेख भएअनुसार त्रेता युगमा श्रीराम र जानकीको शुभ विवाहको लागी मिथिलाको परम्परा अनुसार यही सागरबाट मण्डप निर्माणार्थ माटो खनिएको थियो । त्रेताकालीन इतिहास बोकेको मटिहानीमा रहेको मठका महन्थलाई महन्थहरुको पनि महन्थ अर्थात् मानमहन्थको रूपमा चिनिने गरिन्छ । परम्परादेखि नै नेपालमा मानमहन्थको उपाधि लक्ष्मीनारायण मठका मठाधिशलाई दिने चलन छ ।
तस्बीर:
१. गुठी संस्थानले लक्ष्मी नारायण मठ मटिहानी स्थानको उत्तराधिकारी महन्त पदमा नियुक्त गरेको डा. रविन्द्र दास बैष्णव ।

२. महोत्तरीको मटिहानी नगरपाालिका स्थित लक्ष्मी नारायण मठ मन्दिर को सुन्दर दृश्य ।

३. लक्ष्मी नारायण मठ मटिहानीको नव नियुक्त रवीन्द्र दासलाई बधाई दिन पुग्नु भएको जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सीता कुण्डको रामनरेश दास सहित सन्तसमाजका व्यक्ति।
