
महोत्तरी - महोत्तरीमा पुन: एक सात वर्षीया बालिका माथि सामुहिक बलात्कार भएको छ। यस अघि जलेश्वरमा एक तीन वर्षीया बालिका माथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै यो अर्को घटना सार्वजनिक भएको छ।पीडित बालिकाको बुवाले दुईजना युवकहरुले छोरीलाई विहिवार रातिअपहरण गरी बलात्कार गरेको जानकारी दिनुभयो । उहाँले आफू राति कामबाट घर फर्केको बेला दुईजना युवकहरुले एक बालिकालाई कपडाले मुख छोपेर घिसारदै लगेको देखेपनि वास्ता नगरेको तर घर पुग्दा आफ्नी छोरीलाई नदेखेपछि खोज तलास गर्न निस्केको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'घरमा छोरी नभएपछि शंका लागेर युवकहरुले बालिकालाई लग्दै गरेको दिशातिर खोज्न जाँदा आफ्नै छोरी निर्वस्त्र अवस्था रुदै कराउँदै गरिरहेको भेेटिएको र ती दुईजना युवकहरु मध्ये जनालाई आफूले लठ्ठी प्रहार गर्दा घाइते भएको र अर्को फरार भए।'घटना बलवा नगरपालिकाको हो ।नाबालिक छोरीमाथि अत्याचार गर्ने उपर आफूले कुटपिट गर्दा उसको खुट्टामा चोट लागेको र स्थानीय प्रहरीले छाेरी माथि बलात्कार गर्ने उपर कारबाही प्रकृया अघि नबढाएर उल्टै आफूलाई दिनभर थुनेर राखेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, 'पीडकको अभिभावकले प्रहरीलाई कुटपिट गरेको भनेर खबर गरेको र प्रहरीले छोरीमाथि ती युवकहरुले बलात्कार गरेको भन्दा पनि नसुनेर मलाई दिनभर थुना राख्यो।'
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलाल प्रसाद जयसवारले जिल्लामा यस घटना बारे जानकारी आए लगतै टोली खटाई बालिकाको स्वास्थ चेकजाँच गराउन लगाएकाे बताउनुभयाे ।उहाँले पीडित बालिकालाई प्रादेशिक अस्पताल जलेश्वर ल्याएर स्वास्थ्य जांच लगायतको प्रक्रिया अघि बढाएको बताउनुभयो। अहिले बालिका प्रहरीको संरक्षणमा सुरक्षित रहेको र आबश्यक सबै कानूनी प्रक्रिया भईरहेको डीएसपी जयसवारले बताउनुभयाे।डीएसपी जयसवारको अनुसार आरोपी मध्येको एकजना प्रहरीको निगरानीमा खुट्टाको उपचारमा रहेको र अर्को फरार रहेकोले उसको खोजी भइरहेको बताउनुभयाे । उहाँले आरोपीहरु दुबै जना नावालीक रहेको र घटना बारे थप अनुसन्धान अघि बढाइएको बताउनुभयाे ।
डीएसपी जयसवारले पीडितलाई नै स्थानीय प्रहरी चौकीले दिनभरी थुनेर राखेको भन्ने बारे तत्काल यसको सूक्ष्म अनुसन्धान गर्ने र प्रहरी दोषी देखिए विभागीय कारबाही गरिने बताउनुभयाे। उहाँले चोट लागेका व्यक्ति बलात्कार आरोपी भएको बारे प्रहरीलाई थाह नभएको हुन सक्ने भएको ले यी कुरा अनुसन्धानबाट खुल्ने बताउनुभयाे ।
यता गत साता तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिकाका १७ वर्षीय किशोरलाई प्रहरीले सोमबार पक्राउ गरी कानुनी प्रकृया अघि बढाएको छ।बालिकाको अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिनुभयाे। आइतबार अपराह्न आरोपीले घरबाहिर खेलिरहेकी बालिकालाई घरको भान्साकोठामा लगेर बलात्कार गरेको बताइएको छ।पीडक पक्षले घटना मिलाउन दबाब दिए पनि पीडित बालिकाका बाबुले अस्वीकार गरेपछि आरोपीलाई उसका अभिभावकले भगाएका थिए।
घटना ज्यादै संवेदनशील रहेकाे र यसबारे भोलीपल्ट सोमबार मात्र जानकारी आएको बताउँदै एसपी पोखरेलले सोही दिन साँझ नै आरोपीलाई लुकाइछिपाई राखेको अवस्थामा घरबाटै प्रकाउ गरेको जानकारी दिनुभयाे। घटना मिलाउन पीडक पक्षबाट दबाब आएको जानकारी पाएको बताउँदै उहाँले पीडित बालिका र उनका अभिभावकको सम्पूर्ण सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्नुभयो ।बालिकालाई असह्य पीडा भएपछि प्रादेशिक अस्पताल लगेर उपचार गराइएको थियो। प्रहरीमा जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण समेत गराइएको छ।