
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जुडशीतल पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासीको नाममा शुभकामना सन्देश जारी गर्नुभएको छ।उहाँले प्रदेश तथा देशवासी र विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै यस पर्वले सामाजिक सद्भाव, स्वास्थ्य र पर्यावरणीय चेतनाको सन्देश दिने बताउनुभएको छ।मुख्यमन्त्री सिंहद्वारा जारी शुभकामना सन्देशमा जुडशीतल पर्वलाई धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण पर्वको रूपमा उल्लेख गरिएको छ।
उहाँले यस पर्वले प्रकृति र मानवीय जीवनबीचको सम्बन्धलाई सन्तुलित गर्न प्रेरणा दिने जनाउँदै, “जुडशीतलले मानव जीवनलाई शीतलता, दीर्घायु र समृद्धिको कामना गर्ने पर्व हो,” भन्नुभएको छ।

मुख्यमन्त्री सिंहका अनुसार जुडशीतल पर्व प्राकृतिक परिवर्तन, वातावरण संरक्षण र जलवायु सन्तुलनजस्ता विषयमा जनचेतना फैलाउने अवसर पनि हो।वातावरणीय सन्तुलन र जलचक्रलाई ध्यानमा राख्दै जुडशीतलका दिन रूखबिरुवामा पानी हाल्ने परम्पराले वर्षभरिका लागि सकारात्मक प्रभाव पार्ने विश्वास रहेको छ ।
उहाँले जलवायु परिवर्तन, जैविक विविधताको सन्तुलन, प्रदूषण नियन्त्रण र वातावरणीय समस्या समाधानका लागि जुडशीतल पर्वको वैज्ञानिक महत्वलाई समेत स्मरण गराउँदै परम्परा र आधुनिक ज्ञानबीचको समन्वय आवश्यक रहेको बताउनुभयो ।
शुभकामना सन्देशमा सामाजिक सहकार्य, आपसी सद्भाव, मानवीय करुणा र प्रकृतिप्रति श्रद्धाको विकास गर्न जुडशीतल पर्व महत्त्वपूर्ण माध्यम बन्ने उल्लेख गरिएको छ।“हाम्रो परम्परा, संस्कृति र धर्मले प्रकृतिप्रतिको प्रेम र संरक्षणको भावना विकास गराउँदै आएको छ,” मुख्यमन्त्री सिंहले भन्नुभएको छ ।सबैलाई यो पर्वको अवसरमा जल, जंगल, जमीनजस्ता प्राकृतिक स्रोतको संरक्षण गर्दै सहकार्य र समझदारीको भावना अभिवृद्धि गर्न उहाँको आग्रह रहेकोछ।
मुख्यमन्त्री सिंहले जुडशीतल पर्वमा मनाइने परम्परागत अभ्यासहरूको वैज्ञानिक पक्षप्रति समेत प्रकाश पार्दै भन्नुभएको छ, “गर्मी मौसममा सुपाच्य खाना, स्वच्छता, जल सेवन र दहीको सेवन स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुने भएकाले यस्ता परिकारको प्रयोग केवल परम्परा नभई वैज्ञानिक कारणले पनि सान्दर्भिक छ।”सम्पूर्ण मधेशवासी तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जुडशीतल पर्वले विवेक, शान्ति, स्वास्थ्य र समृद्धिको सन्देश दिइरहोस् भन्ने मुख्यमन्त्री सिंहको कामना छ।
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा सरकारले मंगलवार सार्वजनिक बिदा दिइएको हो ।प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मंगलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेको छ ।
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलान रहेको छ ।